२८ असोज, रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले ‘भ्रष्ट नेता’लाई जनस्तरबाटै बहिष्कार गर्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार, अनियमितता एवं कुशासन बढ्दै गइरहेको बताउँदै उनले भ्रष्टाचारीलाई बहिष्कार नगरेसम्म मुलुक नबन्ने बताएका हुन् ।
बडादसैँ, शुभ दीपावली एवं छठ पर्वको अवसरमा बाराको कोल्हवी र रौतहटको फतुवा विजयपुर नगरपालिकाको दुधिअवामा आईतबार आयोजित छुट्टाछुट्टै शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागी आजपाका अध्यक्ष साहले समृद्ध मुलुक निर्माणका लागि भ्रष्टाचारलाई जनकारबाही गर्नैपर्ने बताए ।
ठुला दल शीर्ष नेताहरू भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचार गरेको पुष्टि हुँदाहुँदै पनि एकले अर्कोलाई बचाउने, जोगाउने र देशमा लुटेर विदेशमा पैसा थुपार्ने काम भइरहेकाले आम जनताले गाउँ गाउँबाट आवाज उठाउनुपर्ने उनको भनाई छ ।
काण्डैकाण्डले मुलुक बदनाम भएको उनको तर्क छ । गिरीबन्धु टी–स्टेट देखी ललिता निवास लगायतका सयौँ काण्डमा ठुला नेताहरूकै संलग्नता पुष्टि भइसकेको उनले बताए । तर सरकार र भ्रष्टाचार निवारण गर्ने निकायहरू त्यस्तालाई कारबाही गर्नुका साटो पुरस्कृत गर्ने काम गरिरहेको उनले आरोप लगाए ।