Logo

२९ असोज,काठमाडौं । विपद् उद्धार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको निधन भएको छ । बडूवालको नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापा जानकारी दिनुभयो ।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेपलान्चोकको पनौती नगरपालिका ५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेसँगै बडुवालले कमान्ड गर्दै काममा निरन्तर खटेका थिए ।

असोज ११ गते देखिको अविरल वर्षाका कारण त्यस क्षेत्रमा भएको धनजनको क्षतिमा उद्धारमा उहाँले उत्कृष्ट कार्य गरेको थियो ।

काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मङ्गलटार , कालढुङ्गा, बाल्टिङ लगायतका स्थानमा खटिएसँगै उहाँलाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरी उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उहाँको निधन भएको जनाएको छ ।

बर्दिया घर भएका बडुवालले २०६० सालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए । उहाँको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

 


सम्बन्धित समाचार