२९ असोज,बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीस्थित महासचिव विप्लवको निवास भोकरमा आज भेटघाट भएको हो ।
दुई नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, माओवादी केन्द्र र नेकपा सहभागी समाजवादी मोर्चा, पूर्व माओवादी घटकहरूका विषयमा कुराकानी भएको ‘विप्लव’को सचिवालयले जनाएको छ । ‘विप्लव’ र जनार्ददनबीचको भेटवार्तामा दुई पार्टीबीचको सम्भावित एकताका विषयमा पनि छलफल भएको सचिवालयको भनाई छ ।
छलफलपछि उपमहासचिव शर्माले नेकपाले शिवगढीमा गरेको सामूहिक धान खेती र कृषि कम्यूनको पनि अवलोकन गरेका छन्। कृषि कम्यूनको अवलोकनपछि उपमहासचिव शर्माले नेकपाले शुरु गरेको सामूहिक खेतीबाट माओवादी केन्द्र र अरु दलले पनि सिक्नुपर्ने धारणा राखेको छन्।
दुई दिन अघि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समेत कपिलवस्तु पुगेर ‘विप्लव’सँग राजनीतिक छलफल गर्नुका साथै सो पार्टीको कृषि कम्युन अवलोकन गरेका थिए। भुसालले नेपालका राजनीतिक दलहरुलाई दलाल पुँजीपति वर्गको प्रभाव र दबाबबाट मुक्त गरी आत्मनिर्भर बनाउन विप्लवबाट सिक्नुपर्ने धारणा राखेका थिए ।