Logo

३० असोज,वीरगञ्ज । नेपाल भारत सीमाक्षेत्र मितेरी पुल नजिक मंगलबार चलेको गोली प्रकरणमा भारतीय सीमा सुरक्षा बल (एसएबी) माथि हातपात गर्ने दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

मितेरी पुल नजिक दशगजा क्षेत्रमा मंगलबार दिउँसो नेपालतर्फबाट कबाड लिएर जाँदै गरेका तस्करहरुलाई एसएसबीले रोक्न खोज्दा विवाद हुँदा एसएसबीले गोली चलाएको थियो । एसएसबीसँग विवादपछि नेपालतर्फ भाग्दै गरेका कबाड तस्करहरुलाई लखेट्दै आएका एसएसबीका जवानले गोली चलाएका थिए ।

कवाड तस्करहरुले एसएसबीमाथि आक्रमण गर्न खोजेपछि एसएसबीका जवानले दुई राउण्ड गोली चलाएका थिए । एसएसबीले चलाएको गोलीको खोका नेपाली भूमीमा भेटिएको थियो । तस्करहरुले एसएसबीका जवानद्वय नविन कुमार र श्री पालमाथि आक्रमण गरेर लछार्दै नेपालतर्फको दशगजा क्षेत्रमा लैजान खोजेको र हतियार समेत खोज्ने प्रयास गरेपछि आत्मरक्षाका लागि एसएसबीका जवान नविन कुमारले दुई राउण्ड गोली चलाए एसएसबीले जनाएको छ ।

एसएसबीले गोली फायर गरेपछि कबाड तस्कहरु नेपाल तर्फ भागेको एसएसबीका कमाण्डेट विकास कुमारले मंगलबार बताएका थिए । उक्त घटनामा एसएसबीमाथि आक्रमण र ढुंगामुढा गर्ने समूह मध्येका दुई जनालाई मंगलबार नै बेलुकी रक्सौलस्थित हरैया थानाका थानाध्यक्ष अञ्जन कुमार नेतृत्वको भारतीय टोलीले पक्राउ गरेको भारतीय प्रहरीका एसपी स्वर्ण प्रभातले जानकारी दिए।

उनका अनुसार, पक्राउ पर्नेमा भारत रक्सौलको अहिरवा टोलाका जितु कुमार र खुर्शीद आलम रहेका छन् । घटनामा संलग्न अन्य व्याक्तिहरुकोपनि खोजी भइरहेको एसपी स्वर्ण प्रभातले बताए ।

मंगलबार दिउँसो नेपाल–भारत सीमा मितेरी पुलको दक्षिणतर्फको क्षेत्रमा गोली चलेपछि नेपालबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक भारती, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालसहितको टोलीले घटनास्थलमा पुगेको थियो । त्यसक्रममा उनिहरुले भारतीय प्रहरी र एसएसबीका अधिकारीहरुसंग घटनास्थलमै भेटेर घटना बारे छलफल गरेका थिए ।


सम्बन्धित समाचार