Logo

१ कात्तिक,वीरगञ्ज । संघीय सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले अहिलेको सरकार अर्को चुनाव गरेर मात्रै परिवर्तन हुने दावी गरेका छन् ।

नेपाल प्रेस युनियन पर्साले बिहीबार आयोजना गरेको दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री चौरसियाले यस्तो दावी गरेका हुन् ।

उनले संवधिान संसोधनको जगमा दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेकोले भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्र लयमा ल्याउने र जनताको चाहाना अनुसारको संविधान संसोधनमा प्रतिबद्ध रहेको बताए ।

सरकार गठन भएको सय दिनमा जनतामा आशा जगाउने काम गरेको दावी गर्दै सबैभन्दा महत्वपूर्ण १८ बर्ष भन्दा लामो समयदेखि बन्न नसकेको टिआरसी विधेयक संसदबाट पास भएर कानून ऐन बन्ने क्रममा रहेको बताए ।

सत्ता सहयात्री दल नेकपा एमालेको पार्टी कार्यालयका लागि भाटभटेनी सुपर मार्केटका व्यावसायी मीन बहादुर गुरुङले गरेको जग्गा दानको सन्दर्भमा पत्रकारहरुले गरेको प्रश्नमा मन्त्री चौरसियाले त्यो नितान्त व्यत्तिगत विषय भएको प्रतिक्रिया दिनुभयो ।

कुनै व्यक्तिले आफ्नो इच्छाले कुनै संघ संस्था वा पार्टीलाई दिन्छ भने त्यो व्यत्तिगत विषय भएको भन्दै त्यसको चर्चा गर्नु पर्ने आवश्यकता नरहेको बताए ।

न्यायधीश नियुक्तिमा भएको चलखेलका सन्दर्भमा आफ्नो कुनै स्वार्थ नभएको बताए । बरिष्ठताको आधारमा नै न्यायधीश नियुक्त गरिएको बताउदै कानून मन्त्री चौरसियाले न्यायधीश नियुक्ति गर्ने छुट्टै निकाय न्याय परिषद रहेकोले परिषदले प्रकृया पु¥याएर नै नियुक्त गर्ने भएकोले यसमा आफ्नो केही व्यक्तिगत स्वार्थले नियुक्ति नगरिएको बताए । यद्यपि अन्य न्यायधीश नियुक्तिको विषयमा बार एशोसिएसनले विरोध गरिरहेकोले बारसँग पनि संवाद र सहमतिमा नै न्यायधीश नियुक्ति गरिने बताए ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका उपसभापति अशोक कुमार गुप्ता, प्रदेशसभा सदस्य श्याम पटेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय सदस्य श्रीराम रायमाझी, बहुदरामाई नगरपालिकाका पूर्व नगर प्रमुख नितेन्द्र साह, पर्सागढी नगरपालिकाका पूर्व नगर प्रमुख लोकनारायण यादव लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार