Logo

५ कार्तिक, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा बढ्दै गएको भ्रष्टाचार, अनियमतिता र कुशासनको विरुद्ध राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ज्ञापनपत्र बुझाएको छ । जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा हालसम्म आम जनतालाई गुणस्तरीय सेवा र सुविधा नभएको भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानले सात बुँदे माग सहित सोमबार ज्ञापनपत्र बुझाएको हो ।

पोखरिया नगरपालिकामा सेवा विस्तार र गुणस्तरमा सुधार नगरी पूर्व नगरप्रमुखको पालादेखि नै सम्पत्ति कर लगाईएको, तीन सय रुपैंया लाग्ने दस्तूर अहिले एक हजार पाँचसयदेखि पाँच हजार सम्म बढाईएको, देशमा आर्थिक सङ्कट भएको बेलामा सम्पत्ति कर बढाएको, बिमा गराएका बिरामीहरूलाई औषधि उपलब्ध नगराएको, कर्मचारीहरूलाई समयमा तलब नदिए, नगरपालिकालाई भर्ती केन्द्र बनाई कर्मचारी तथा जनप्रतिनिधिको मिलोमतोमा ठगी धन्दा भई रहेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले ठहर गरेको छ ।

यस्तै निर्माण कार्य गराउने तर भुक्तानी नदिएको, नगर बिस्तारमा जग्गा धनी तथा जग्गा खरिदकर्ताको समस्या समाधान नगरी अनावश्यक खर्च भई रहेकोले यसको सुधारका लागि ध्यानकषण गराउन ज्ञापनपत्र बुझाएको राष्ट्रिय मुक्ति क्रान्ति अभियान नेपालका केन्द्रीय सदस्य नेजामुद्दीन समानीले जानकारी दिए । आफूहरुले राखेको मांग एक महिनाभित्र पुरा नभएमा यसको भण्डाफोरको साथै संघर्ष गर्न बाध्य हुने पनि विज्ञप्तिमा जनाईएको छ ।

अभियानले नगरपालिकाबाट मधेश आन्दोलनको क्रममा शहीद भएका बिरबल मुखिया बिन तथा शहीद चंदन पटेलको नाममा शहीद पार्क निर्माण गर्नुपर्ने माग राखेका छन् ।


सम्बन्धित समाचार