
४ कात्तिक, ठोरी । आईतबार र सोमबार विहान परेको वर्षाका कारण ठोरीका किसानहरु मारमा परेका छन् । लगातार २ दिन परेको झरीका कारण सुर्ती खेती , धान खेती र तोरी खेती गर्ने किसानहरुलाई समस्या भएको हो । पालिकामा नै सबैभन्दा धेरै सुर्ती खेती हुने वडा ४ का किसानको सुर्ती लगाएको खेत नै डुबान भएको छ । सुर्ती रोप्ने बित्तिकै पानीले खेत डुबेपछि झण्डै ६० प्रतिशत बिरुवा नष्ट भएको किसान कान्छा तामाङले बताए ।
पानीले गर्दा सुर्तीको बिरुवा पहेंलो हुने र बिस्तारै कुहिने भएकोले नोक्सानी भएको तामाङको भनाई छ । यस्तै सुर्ती रोप्न खेत तयार पारेर बसेका किसानको खेत डुबान भएपछि फेरि खनजोत गर्नुपर्ने अवस्था आएको पनि किसानहरुको गुनासो छ ।एकातिर सुर्ती रोप्न ढिलाई भएको अर्कोतर्फ फेरि खनजोत गर्दा दोहोरो खर्च हुने अवस्था आएको सोही वडाका अर्का किसान रामचन्द्र रिसालले बताए ।
यस्तै पानीका कारण तोरी छर्न तयार किसानहरुलाई पनि मर्का परेको छ । खनजोत गरेर तोरी छर्न तयार पारेको खेतमा पानी जमेपछि समस्या भएको ठोरी –५, बाघमोर्चाका किसान रन्जित कार्कीले बताए । एकपटक खनजोत गरेर तयार पारेको खेतमा पानी जमेर तोरी छर्न ढिलाई हुन लागेपछि गहुँ छर्ने सोचमा पुगेको किसान कार्कीले बताए । कतिपय किसानले दशैं सकिनेबित्तिकै लगाएको आलु र लसुन खेतीलाई समेत पानीले नोक्सान गरेको छ ।
उता सिँचाइ सुविधा भएका क्षेत्रमा किसानले भित्र्याउन ठिक्क पारेको धान खेतमा नै डुबेको छ । दुईदिनदेखि परेको आकाशे पानीका कारण खेतमा काटेर सुकाइएको धान डुबेर किसानहरुलाई चिन्तित बनाएको छ । विशेष गरी ठोरीको वडा नम्बर १ ,२ र ३ का किसानहरुले दशैंलगत्तै काटेर सुकाउन खेतमै छोडेका धान डुबेको हो । किसानले भित्र्याउन ठिक्क पारेको धान खेतमा डुब्दा खेतमा उम्रने डर भएको ठोरीका सन्चारकर्मी चिरञ्जीवी सापकोटाले बताए ।