७ कात्तिक, वीरगञ्ज । विरेन्द्र सोनारको हत्या प्रकरणमा संलग्न एक जना पक्राउ परेका छन् । बारा प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति भारतिय नागरिक हुन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको विशेष टोलीले हत्या भएको एक सातापछि मुख्य व्यक्तिलाई पक्राउ गरेको जनाएको हो ।
प्रहरीको टोलीले सोनार हत्याका मुख्य आरोपित भारतीय विजय गुप्तालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । उनका अनुसार बुधबार विहान वीरगञ्जको नाका इनर्वाबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गुप्ता रक्सौल निवासी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
पक्राउ परेका गुप्तालाई प्रहरीले थप सोधपुछ गरिरहेकोले अन्य विवरण आउन बाँकी छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी प्रवक्ता सापकोटाले बताए ।
सोधपुछ सकिएपछि आजै पत्रकार सम्मेलन गरेर गुप्तालाई सार्वजनिक गर्ने तयारी रहेको बारा प्रहरी प्रवक्ता सापकोटाले बताए ।
गएको १ कातिकमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ गण्डक नहर जोड्ने त्रिवेणी पुल नजिक विरेन्द्र सोनारको शव फेला परेको थियो । वीरगन्जको छपकैया निवासी उनी बेपता भएको चार दिन पछाडि बारामा मृत अवस्थामा फेला परेका थिए ।
यो पनि पढ्नुहोस् :
वीरगञ्ज ३ छपकैयाका विरेन्द्र साह सोनारको हत्या भएको परिवारको दावी
बाराको त्रिवेणीमा फेलाको शव वीरगञ्ज छपकैयाका विरेन्द्र साह सोनारको रहेको पुष्टी
बारामा एक जना पुरुषको शव फेला पर्यो, पहिचान खुल्न बाँकी