८ कात्तिक,काठमाडौं । सहकारी ठगी र संगठीत अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तिहार प्रहरी हिरासतमै बित्ने भएको छ । कास्की जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न बुधवार ७ दिन म्याद दिएसँगै उनलाई कात्तिक १४ गतेसम्म हिरासतमै राखेर अनुसन्धान गरिने भएको हो ।
कात्तिक १४ गते नै यमपञ्चकको पहिलो दिन काग तिहार पर्छ । यसपछि तिहारको सरकारी बिदा शुरू हुन्छ । तिहारमा अदालत खुले पनि बन्दीप्रत्यक्षीकरणको रिटबाहेक अरु मुद्दा अदालतले हेर्दैन । अदालतले म्याद लम्ब्याउँदै गर्दा यो मुद्दा थप पेचिलो बन्ने निश्चित छ ।
गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र उनका ‘पार्टनर’ छविलाल जोशी बञ्जाडे अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
सूर्यदर्शनलगायत पाँचवटा सहकारीबाट गोरखा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ रकम गएको देखिन्छ । प्रबन्ध निर्देशकका हैसियतमा लामिछानेले धमाधम करोडौंको चेक काटेका थिए । सहकारीबाट उनले ‘डाइरेक्ट’ ऋण लिएको नदेखिए पनि गोरखा मिडियामा पदीय हैसियतमा रहँदा संस्थाको नाफाभन्दा बढी रकम चेक काटेको देखिन्छ । सहकारीको रकम आफू काम गर्ने मिडियामा आएको जान्दाजान्दै रकम अपचलन गरेको आरोप पीडित पक्षको छ ।
पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेका पार्टनर एवं गोरखा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई फरार छन् । राई विभिन्न सहकारीको अध्यक्ष रहेको बारेमा लामिछाने जानकार रहेको बताइएको छ ।
‘रवि लामिछानेमाथि प्रहरीले लिने बयान सकिएको छैन, सरकारी वकिल कार्यालयमा बयान गर्न लगिएको छैन,’ कास्की प्रहरीका एक अधिकृतले भने,‘ अदालतले ७ दिनको म्याद दियो, अब उहाँको तिहार हिरासतभित्रै हुने भयो ।’