१० कात्तिक, बारा । वन रक्षकको टोलीले बाराको महबिलवा स्थित चिरान मिल (सः मिल) मा छापमारी गरी १३ क्युफिटको दुई थान सालको काठको गोलिया बरामद गरेको छ ।
बिशेष सुचनाको आधारमा डिभिजन वन कार्यालय बाराबाट जमदार नागेन्द्र प्रसाद बैठाको कमान्डमा गएको टोलीले कलैया उपमहानगरपालिका वडा नं.२१ महबिलवामा छापामारी गरेको डिभिजनल वन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।
७ जनाको सङ्ख्यामा गएको वन रक्षकको टोलीले चिरान मिलमा छापामारी गर्दा त्यहाँ कार्यरत कर्मचारी लगायत सञ्चालक फरार भए । उक्त चिरान मिल ४२ बर्षिय दिनानाथ साहको रहेको जमदार बैठाले बताए । चिरान मिलका सञ्चालक साहमाथि पहिला पनि वन मुद्धा चलेको र उनी तारिखमा रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
बरामद दुई थान काठलाई डिभिजन वन कार्यालय बारा, सिमराको नियन्त्रणमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको र चिरान मिलका सञ्चालक साहको खोजिकार्य पनि तिब्र बनाइएको डिभिजन वन कार्यालय बाराका डिभिजनल बन अधिकृत झाले बताए ।