११ कात्तिक,वीरगञ्ज । वीरगञ्जमा दिपावली पर्वलाई लक्षित गरी अखाद्य वस्तुबाट लड्डु बनाएर मिठाइ पसल तथा होटलहरुमा आपूर्ति गर्दै आएका दुई वटा लड्डु उद्योगमा बजार अनुगमन समितिले आज छापा मारेर सिल गरेको छ ।
वाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसिया नेतृत्वको टोलीले वीरगन्ज–११ श्रीपुर र वीरगञ्ज–१० रानीघाटमा लड्डु बनाउने उद्योगमा आज छापा मारेर सिल गरेको हो ।
श्रीपुर र रानीघाटमा घर भाडामा लिएर भारतीय नागरिकले सञ्चालन गरेका उद्योगमा छापा मार्ने क्रममा अखाद्य रसायन (केमिकल) र रंग तथा बेसनको सट्टा कनिका र गँहुको पिठोबाट लड्डु बनाउँदै गरेको भेटिएको अनुगमन टोलीमा सहभागी जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी गौरीशंकर गुप्ताले बताए ।
श्रीपुरमा भारत बिहारको जमुई जिल्लाका निरज यादवले र रानीघाटमा बिहार जमुईकै वीरेन्द्र यादवले घर भाडामा लिएर नेपाल सरकारको अनुमित बेगर नै स्वास्थ्यमा हानी गर्ने खाद्य वस्तुबाट लड्डु बनाइरहेको भेटिएको होे ।
सोधपुछका क्रममा ती भारतीय नागरिकले उत्पादन गरेको कमसल गुणस्तर र अखाद्य लड्डु वीरगन्जका मिठाई पसल र होटलहरुमा प्रतिकिलो १ सय ५० रुपैयाँको भाउमा बेच्ने गरेको पाईएको छ ।
नेपाल सरकारको कुनैपनि निकायमा दर्ता नै नगरि सञ्चालन गरिएका तथा अखाद्य लड्डु उत्पादन गरिहरेका दुवै उद्योगमा अनुगमन समितिले सिल गरेको छ ।
यसका साथै श्रीपुरको उद्योगका सञ्चालक निरज यादवलाई २० हजार रुपैयाँ जरिवानापनि गरिएको छ । अर्का रानीघाटका सञ्चालक वीरेन्द्र यादवलाई भने थप कारबाही के गर्ने भन्ने बारेमा अनुगमन समितिको बैठक बसेर निर्णय गरिने बताईएको छ ।
त्यस्तै वीरगञ्जको मूर्ली चोकमा रहेको क्षीर सागर होटलमापनि आज नै अनुमगन गर्दा भारतीयले बनाएर सप्लाई गरेको अखाद्य लड्डु बिक्रीका लागि राखेको अवस्थामा भेटिएकोले उसलाई पनि २० हजार रुपैंया जरिवाना गराईएको उपाध्यक्ष भूजेलले बताए ।
अखाद्य लड्डु भेटिएपछि क्षीर सागर होटलका सञ्चालकलाई पनि २० हजार रुपैयाँ जरिवाना गरिएको गुप्ताले बताए । अनुगमन टोलीमा वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघका रचेन्द्र थापा, उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल, वीरगन्ज उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधीहरुको पनि सहभागीता थियो ।