११ कात्तिक,वीरगञ्ज । वीरगञ्जका उद्योगी प्रेमकुमार जाटियालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा जिल्ला अदालतको आदेशमा प्रहरीले जाटियालाई आइतबार दिउँसो वीरगञ्जको लिंकरोडस्थित गरिमा विकास बैंकको माथि रहेको युनिक फर्मास्युटिकल्सको कार्यालयबाट पक्राउ गरेको हो ।
जाटियाको मैग्नस फर्मास्युटिकल्स, श्रीराम कोलोनी, युनिक फर्मास्युटिकल्स लगायतका उद्योगमा लगानी रहेको छ ।
जाटियालाई पर्सा जिल्ला अदालतको आदेशमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
जाटियलाई आइतबार नै पर्सा जिल्ला अदालतमा पेशसमेत गरिएको उनले बताए ।वीरगन्ज–२ छपकैयास्थित श्रीराम कोलोनीमा माटो पुरेबापत ठेकेदार कम्पनी सत्यम सप्लायर्सलाई जाटियाले पाँच लाख रुपैयाँ भुक्तानी नदिएको कारण ठेकेदार कम्पनी अदालत गएको थियो ।
ठेकेदार कम्पनीका सञ्चालक सञ्जयकुमार श्रीवास्तव र संगीता कुमारी वादी रहेको उक्त मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ वैशाख २ गते गरेको फैसला अनुसार बिगो भराउन आदेश गरेको तर जाटियाले बिगो नभरेपछि २०८१ कात्तिक २ मा अदालतले फेरि अर्को फैसला गरेको थियो ।
उक्त फैसलामा ६ महीना कैदमा राखेर बिगो असूल गर्ने आदेश गरिएको उल्लेख छ । त्यहि आदेशको कार्यान्वयनका लागि प्रहरीले आज जाटियालाई नियन्त्रणमा लिएर अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिनुभयो ।