१२ कात्तिक, बारा । बारामा चिरान काठ लोड गरिएको पिकअप सहित ३ जना पक्राउ परेका छन् । अस्थाई प्रहरी चौकी बारागढीबाट खटिएको प्रहरी टोलीले शनिबार राती चिरान काठ लोड रहेको ना ३ च १९०१ नम्बरको पिकअप सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा करैयामाई गाउँपालिका वडा नं.७ पिपरा बस्ने बर्ष ४० का हरिभजन चौधरी, बर्ष ३५ का रामप्रताप चौधरी र सोहि गाउँपालिकाको वडा नं.५ तेतरिया बस्ने बर्ष २७ का दिपनारायण चौधरी रहेका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।
पिकअपलाई मोटरसाईकलले स्कटीङ्ग गर्दै गरेका बिश्वास चौधरी, श्रवण कुमार धामी र अफताब चौधरी फरार भएको उनले बताए । स्कटिङ्ग गर्ने म.प्र.०३.०२८प ५०१४ नम्बरको मोटरसाईकल बन गस्तीटोलीले नियन्त्रणमा लिएको छ ।
करैयामाई गाउँपालिका वडा नं.७ पिपराको श्रवणको मिलबाट चिरान काठ लोड गरि लंगडा चोकको फर्निचर उद्योगमा जाँदै गरेको अवस्थामा पोखरीया भवानीपुरको बिच बाटोबाट उनीहरु पक्राउ परेका हुन् ।
बरामद चिरान काठमा सिसौँको चिरान काठ ७३ वटा २०.६ क्युफिटको र ३५ वटा चिरान काठ सालको २०.५८ क्युफिट गरी ४१.५८ क्युफिट रहेको रेञ्जर अक्दुल करिमले जानकारी दिए ।
नियन्त्रणमा लिएको काठ सहित मानिस र पिकअपलाई आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय बारामा बुझाइएको छ ।