१२ कात्तिक,वीरगञ्ज । रौतहट प्रहरीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेका छन् ।
रौतहट प्रहरीको अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको गस्ती टोलीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताए ।
रायका अनुसार आइतबार साँझ सीमावर्ती भारतीय बजार बैरगनिया बाट मोटरसाइकलमा गौर आएका चौधरीलाई अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको टोलीले चेकजाँच गर्दा उनले बोकेको नाइलनको झोलामा ५ सय थानको नेपाली ५ लाख रुपैयाँ बरामद भएको थियो ।
बरामद रुपैयाँ मोटरसाईकल सहित भारतीय नागरिक चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।