१२ कात्तिक,वीरगञ्ज । माटोको भाडा बनाउने कुम्हाल समुदायको पुख्र्यौली पेशा हो । उनीहरुले बनाउने माटाका भाँडाहरु विभिन्न पूजापाठ तथा चाडपर्वहरुमा प्रयोग हुने गरेको छ ।
तरपनि बढ्दो विद्युतीय सामग्री र प्लाष्टिकको सामाग्रीले कुम्हाल समुदायको पुख्र्यौली पेशा संकटमा पर्दै गएको छ । साथै यसमा युवा पुस्ताको आकर्षण पटक्कै छैन । पुख्र्यौली पेशा संकटमा पर्दै गएपछि र युवा पुस्ताको अकर्षण बढाउनका लागि भाडाकुँडा बनाउने पुख्र्यौली पेशालाई संरक्षण गरी व्यासायिक प्रवद्र्धनका लागि तराई कुम्हार समाजले संस्थागत रुपमा नै पहल शुरु गरेको छ ।
विगत ६ बर्षदेखि वीरगञ्जको घण्टाघरमा माटाका भाँडाहरुको व्यवस्थित बजार लगाउन थालेको छ । उनीहरुले कृषि बाहेक आफ्नो पेशालाई आयआर्जनको माध्यम पनि बनाउदै आएका छन् । तर, पछिल्लो समयमा विभिन्न किसिमका विद्युतीय सामग्रीको प्रयोगले उनीहरुको पेशा संकटमा पर्नुको साथै आम्दानीको स्रोत पनि गुमाउनु परेको छ ।
सीमावर्ती भारतबाट माटाका भाडाहरु वीरगन्ज ल्याएर बिक्री गर्नेहरुले गर्दापनि स्थानीय कुम्हाल समुदायलाई मार परेको उनीहरुको गुनासो छ । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ सुरजहाँका भागृत पंडित ३० बर्षदेखि माटोको भाँडाहरु बनाउदै आएका छन् ।
उनी खेतीकिसानी सँगै माटाका भाँडाहरु बनाएर बिक्री गरी जीवन यापन गर्दै आएका छन् । पहिलेको जस्तो व्यापार अहिले नभएको उनी बताउछन् । वीरगन्जमा माटाका भाडाहरु बनाउने र बेच्ने कतिपय व्यावसायिक रुपमै त्यहि पेशामा छन् । कतिपय भने चाडपर्वको बेलामा मात्रै बनाएर बेच्ने गरेका छन् ।
वीरगञ्ज ११ रानीघाटका मोहन पंडित कुम्हाल माटोको भाडा नै बनाएर परिवार चलाउछन् । उनका छोरा रमेश प्रजाति पनि बाबुकै पेशामा लागेका छन् । तर पहिले जस्तो बजारमा दियो बिक्री हुन छोडेको उनी बताउछन् । उनी भन्छन्, ‘पहिले जस्तो छैन । यो बर्ष घाटा नै छ । पहिले २०० बिक्री हुन्थ्यो ।
यसपटक घाटाको व्यापार होला जस्तो छ ।’ पुख्र्यौली पेसा संरक्षणका लागि अहिले पनि माटोका भाँडा बनाएर गाउँघरदेखि सहरसम्म बिक्री गर्दै आएका छन् ।
पुख्र्यौली पेशा संकटमा परेपछि युवा पुस्तामा भने अन्यौलमा छन् । वैकल्पिक बाटोको रुपमा वैदेशिक रोजगारीमा जानुपर्ने बाहेक देशमा रोजगारीको अवसर पनि नहुँदा र पुख्यौली पेशालाई व्यावसायिक बनाउनका लागि राज्यबाट सहयोग नहुँदा युवा पुस्ता अन्योलमा रहेको तराई कुम्हार समाज पर्साका अध्यक्ष चन्द्रशेखर पंडितले बताए ।
उनले भने, ‘अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकँुडा बनाउने नै छ । मेहनत गरे अनुसारको प्रतिफल नपाउँदा निराश हुने गरेका छन् । पेशालाई व्यावसायिक बनाउन राज्यबाट पनि सहयोग पाएको छैन । यसलाई व्यावसायिक बनाउन सकेमा युवा पुस्तालाई आफ्नो पुख्र्यौली पेशालाई जोगाएर राख्न हौसला बढुने थियो ।’
उनका अनुसार विगतमा माटोको भाँडा बनाउने व्यवसायिक शुरुवात गर्नका लागि ४७ जनालाई तराई कुम्हार समाजले तालिम पनि दिएको थियो । तर, तालिमलाई व्यवहारमा लागू गर्न राज्यबाट सहयोग पाए । जिल्ला अध्यक्ष पंडित भन्छन्, ‘तालिम त दियौं मेशिन भएन । राज्यबाट पनि मेशिन पनि पाएन ।
मन्त्रालयमा पनि अनुरोध ग¥यौ । व्यावसायिक रूपमा सञ्चालन गर्न समस्या भयो ।’ स्थानीय तहबाट मेशिन खरिदका लागि मात्रै सहयोग भयो भने पनि माटाका भाँडाहरुको व्यावसायिक उत्पादन र बिक्री गरेर आम्दानी गर्न सकिने र यसले युवाहरुलाई रोजगारीको सृजना पनि गर्न सकिने तराई कुम्हार समाज वीरगन्ज महानगरका अध्यक्ष कृष्ण पंडित बताउछन् ।