१२ कात्तिक,काठमाडौं । इरानमाथि इजरायलले गरेको जवाफी आक्रमणपछि मध्यपूर्वमा युद्धको संकट गहिरिएको छ । इरानले एक महिनाअघि गरेको मिसाइल आक्रमणको प्रतिक्रिया स्वरूप इजरायलले शनिबार राति मिसाइल आक्रमण गरेको थियो ।
अब इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले लिने निर्णयले मध्यपूर्व क्षेत्रको संकट कता जान्छ भन्ने तय गर्ने छ । तर, खामेनीले धेरै कठिनमध्ये कम्तिमा एउटा खराब विकल्पमा निर्णय गर्नुपर्नेछ ।
उनको एउटा निर्णयमा ब्यालिस्टिक मिसाइलको साथ अर्को प्रतिशोधात्मक हमला गर्ने हुनसक्छ । तर, इजरायलले पहिले नै चेतावनी दिएको छ कि यदि यो भयो भने उसले फेरि बदला लिनेछ ।
यदि उनले प्रतिशोधात्मक हमला गर्ने निर्णय गरेनन् भने पनि अमेरिका समर्थित इजरायली सैन्य शक्ति र राजनीतिक दृढताबाट कमजोर र डराएको देखिने छ ।
अन्ततः इरानका सर्वोच्च नेता र उनका सल्लाहकारहरूले सम्भवतः इरानको इस्लामिक शासनको अस्तित्वलाई कम्तिमा हानि नपु¥याउने निर्णय लिनेछन् ।
इजरायलको आक्रमणअघि र पछिको घण्टामा इरानको आधिकारिक मिडियाले धेरै बोल्ड बयान दिएका छन् । यसले इजरायललाई जवाफ दिने निर्णय इरानले पहिले नै लिइसकेको देखिन्छ । तर, इरानले आफ्नो धम्की फिर्ता लिने निर्णय पनि गर्न सक्छ ।
बेलायती प्रधानमन्त्री कियर स्टारमरले पनि यस्तै आशा राखेका छन् । इजरायलले आत्मरक्षाका लागि यो कारबाही गरेको अमेरिकाको तर्कसँग उनी सहमत छन् । ’म स्पष्ट छु कि इजरायलसँग इरानी आक्रमण विरुद्ध आफ्नो रक्षा गर्ने अधिकार छ। इरानले प्रतिक्रिया दिनु हुँदैन । हामीले थप क्षेत्रीय तनावबाट जोगिनै पर्छ र सबै पक्षहरूलाई संयमता अपनाउन आग्रह गर्नुपर्छ,’ उनले भने ।
एक साताअघि इरानका विदेशमन्त्री अब्बास अरागचीले टर्कीको एनटिभी नेटवर्कलाई भनेका थिए, ’इरानमा हुने कुनै पनि आक्रमणलाई हाम्रो लागि रातो रेखा पार गरेको मानिनेछ। त्यस्ता आक्रमणको जवाफ दिइनेछ।’
इजरायली आक्रमणको केही घण्टाअघि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकीले भनेका थिए, ’इरान विरुद्धको कुनै पनि इजरायली आक्रमणलाई पूर्ण शक्तिका साथ जवाफ दिइनेछ । इरानले इजरायलको सीमित आक्रमणको जवाफ दिने छैन भन्ने सुझाव दिनु अत्यन्त भ्रामक र आधारहीन छ ।’ इरान विदेशी आक्रमणको जवाफ दिनु आफ्नो अधिकार र जिम्मेवारी दुवै हो भन्ने विश्वास गर्दछ।
आइतबार इरानका सर्वोच्च नेता खामेनीले सामाजिक सञ्जालमा लेखेका छन् कि ’इजरायलले गलत कदम चालेको छ, हामीले उनीहरूलाई इरानका जनताको शक्ति, दृढ संकल्प र पहलबारे बताउनुपर्छ ।’
इजरायलले आक्रमणको गति महिनौंअघि नै तय गरेको थियो। गत वर्षको अक्टोबरमा हमास आक्रमणमा करिब १२०० इजरायली मारिएका थिए । मृत्यु हुनेमा अधिकांश इजरायली थिए भने ७० भन्दा बढी विदेशी नागरिक पनि थिए । हमास इरान महत्वपूर्ण समर्थक भएको मानिन्छ ।
इजरायलले आक्रमण गर्ने मौका खोजिरहेको छ भन्ने डरले इरानले इजरायलसँग सर्वनाशिक युद्ध नचाहेको बारम्बार संकेत गरेको छ।
यसको सट्टा इरानले आफ्ना कथित सहयोगीहरू र प्रतिरोधको अक्ष प्रोक्सीहरू प्रयोग गरेर इजरायलमाथि आक्रमण गरिरहेको छ ।
यमनका हुथी विद्रोहीहरूले लाल सागर हुँदै जाने जहाजहरू रोकेर नष्ट गरेका छन्। लेबनानबाट हिजबुल्लाहको रकेट आक्रमणले उत्तरी इजरायलमा कम्तिमा ६० हजार इजरायलीहरूलाई घर छोड्न बाध्य तुल्याएको छ ।
युद्धको छ महिनामा इजरायली बदलाको कारण दक्षिणी लेबनानमा दुई गुणा धेरै मानिसहरू आफ्नो घर छोडेर भाग्नु परेको थियो।
इजरायलले हिजबुल्लाहले गोलाबारी बन्द नगरे र सीमाबाट पछि हटेन भने कारबाही गर्ने चेतावनी दिएको छ ।
इजरायलको भर्खरैका आक्रमणहरूपछि इरानी नेताहरूसँग केवल कठिन विकल्पहरू मात्र बाँकी छन्।
इजरायलले युद्धबाट टाढा रहने इरानको चाहनालाई कमजोरीका रूपमा व्याख्या गरेको छ। यसले इरान र यसको प्रतिरोधी सहयोगीहरूलाई दबाब बढाएको छ।
इरानलाई सबैभन्दा ठूलो धक्का लेबनानमा इरानको सबैभन्दा महत्त्वपूर्ण सहयोगी हिजबुल्लाह विरुद्धको ठूलो आक्रमणबाट आएको हो। इरानले आफ्नो रक्षाको महत्वपूर्ण भागको रूपमा हिजबुल्लाहको हतियार हतियार निर्माण गर्न वर्षौं खर्च गरेको थियो।
हिजबुल्लाह लेबनानभित्र इजरायली सेनासँग लडिरहेको छ। उसले ठूलो संख्यामा रकेट प्रहार गरिरहेको छ । तर हिजबुल्लाह आफ्नो नेता र अधिकांश हतियार गुमाएपछि स्तब्ध छ।
इजरायलले उत्तरी गाजामा पनि ठूलो हमला गरिरहेको छ। जसमा इजरायली सेनाले सम्पूर्ण जनसंख्यालाई बमबारी, घेराबन्दी र भोकमरीको जोखिममा पारेको छ।
जबसम्म इरान र इजरायलले जवाफ नदिए आफूलाई कमजोर र पराजित ठान्ने महसुस हुन्छ, तबसम्म आक्रमण र प्रतिआक्रमणको निरन्तरको लहरलाई रोक्न गाह्रो हुने छ । यस्तो अवस्थामा युद्धहरू नियन्त्रण बाहिर जान सक्ने विश्लेषण भैरहेको छ ।
अब प्रश्न उठ्छ, के इरान युद्धको यो घडीमा इजरायललाई अन्तिम चेतावनी दिन तयार छ?
अर्को महिना नोभेम्बर ५ मा हुने अमेरिकी चुनाव इजरायल र इरान दुवैका लागि विशेष छ किनभने तिनीहरूले अब के हुन्छ भनेर निर्णय गर्न सक्छन् ।
यदि डोनाल्ड ट्रम्प चुनावमा फेरि निर्वाचित भए भने उनी इरानको आणविक कार्यक्रम र तेल र ग्यास प्लान्टहरूमा आक्रमणबारे बाइडेनभन्दा कम चिन्तित हुन सक्छन् ।
इरानको बहुमूल्य सम्पत्तिमा आक्रमण नगर्ने इजरायलको निर्णयले कम्तीमा पनि कूटनीतिज्ञहरूले आफ्नो काम गर्न पर्याप्त समय नपाएसम्म इरानलाई आफ्नो प्रतिक्रियामा ढिलाइ गर्ने मौका दिन सक्छ कि भनेर फेरि मध्यपूर्वले पर्खिरहेको छ। गत महिना संयुक्त राष्ट्र संघको महासभामा इरानले नयाँ चरणको आणविक वार्ताका लागि तयार रहेको सुझाव दिएको थियो ।
इरानले सधैं परमाणु बम बनाउन चाहेको कुरा अस्वीकार गर्दै आएको छ। तर, इरानसँग मरमाणु बम रहेको आश्का गरिन्छ । बीबीसी