Logo

File Photo

१३ कात्तिक, बारा । विश्व प्रसिद्ध गढीमाई मन्दिरमा चढाइएको भेटी गणना सुरु भएको छ । महागढीमाई नगरपालिकास्थित मन्दिर परिसरमा रहेका चार वटा दान पेटिकामध्ये सोमबार मुख्य मन्दिरमा राखिएको एउटा दान पेटिका खोलिएको छ ।

घटनास्थापनादेखि कात्तिक ११ गतेसम्म सङ्कलित भेटी गनिँदा तीन लाख ८७ हजार चार सय ७४ रुपैयाँ सङ्कलन भएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जानकारी दिए । दान पेटिकाबाट नगद भेटीका साथै नेपाली र विदेशी मुद्रा र चाँदीबाट बनेका गढीमाई देवीका पाँच जोडी आँखा पनि भेटिएका छन् ।

मेयर यादवका अनुसार गणना सोमबार गढीमाई विकास समितिका पदाधिकारीहरूको रोहबरमा सम्पन्न गरिएको हो । मेयर यादवले अन्य तीन दान पेटिकाको गणना आज मङ्गलवार गरिने जानकारी दिए । मेयर यादवका अनुसार दान पेटिकाबाट सङ्कलित सम्पूर्ण भेटी गढीमाई विकास समितिको कोषमा जम्मा हुनेछ ।

उक्त रकमलाई मन्दिरको संरक्षण, व्यवस्थापन र विकासका काममा खर्च गरिने योजना बनाइएको छ । गढीमाई मन्दिरले वर्षभर धार्मिक कार्यक्रमहरू आयोजना गर्नुका साथै विभिन्न अवसरमा दर्शनार्थीहरूलाई सेवा प्रदान गर्दै आएको छ । विशेष गरी गढीमाई मेला, जसमा लाखौँ श्रद्धालु सहभागी हुन्छन्, मन्दिरका लागि मुख्य आर्थिक स्रोतका रूपमा रहने गरेको छ ।


सम्बन्धित समाचार