१३ कात्तिक,वीरगञ्ज । नेपालकै सबैभन्दा ठूलो औद्योगिक करिडोर वीरगञ्ज–पथलैया क्षेत्रमा सञ्चालित उद्योगहरुका हजारौं मजदुर बेरोजगार भएका छन् ।
डेडिकेटेड र ट्रंकलाईन प्रयोग गरे बापतको महशुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति बन्द गरेपछि उद्योगहरु बन्द हुन गई हजारौं मजदुरहरु प्रभावित भएका हुन् ।
औद्योगिक करिडोरमा सञ्चालित बहुराष्ट्रिय कम्पनी र स्वदेशी लगानीका उद्योगहरुका मजदूरहरुको रोजगारी जोखिममा परेको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामीले बताए ।
विद्यतु लाइन नजोडेसम्म आधा पारिश्रमिक दिने गरि उद्योगहरुले तयारी गरेको र श्रम समस्या आउने संकेत गरेको उनले बताए । यसअघि नै पथलैया– वीरगञ्ज कोरिडोरमा संचालित उद्योग मध्ये छड र सिमेन्ट उद्योगहरु आंशिक संचालनले गर्दा हजारौं श्रमिकले रोजगार गुमाउनु परेको थामीको भनाई छ ।
थामीका अनुसार बहुराष्ट्रिय कम्पनी हुलास स्टील इण्डष्ट्रीज लिमिटेडमा नियमित श्रमिक ६ सय, बाहिरी स्रोत मार्फत ५ सय गरी ११ सय मजदूर कार्यरत रहेका छन् । त्यस्तै जगदम्बा स्टील इण्डष्ट्रिज प्रा. लि. मा नियमित श्रमिक १२५ र बाहिरी स्रोतमार्फत एक हजार पाँचसय गरी १ हजार ६ सय २५ जना मजदुरहरु रहेका छन् ।
हामा आइरन एण्ड स्टील इण्डष्ट्रिज प्रा. लि. मा नियमित श्रमिक १०५ र आउटसोर्स मार्फत १५० गरि २५५ जना रहेका छन् । अशोक स्टील इण्डष्ट्रिज प्रा. लि. मा नियमित श्रमिक ७५ र आउटसोर्स मार्फत २५० गरि ३२५ जना श्रमिक रहेका छन् ।
यसरी विद्युत आपूर्ति रोकिएका उद्योगहरुको मात्रै अहिले ३ हजार ३ सय ५ जना श्रमिक रहेका छन् । सिमेण्ट उद्योग र छड उद्योगहरुबाट रोजगारी गुमाएका श्रमिकहरुको संख्या पनि यसमा जोड्ने हो भने औद्योगिक कोरिडोरमा बेरोजगारी समस्याको अवस्था भयावह हुने संकेत देखिएको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष थामीको चिन्ता छ ।
सामान्य अवस्थामा पनि औद्योगिक करिडोरका उद्योगहरुमा विद्युतको आन्तरिक आपूर्ति गुणस्तर कमजोर भई उद्योगको उत्पादनमा ह्रास आएर मजदुर कटौती गर्नुपर्ने बाध्यत्मक परिस्थिति ब्यहोरिरहेको अवस्थामा बक्यौता नतिरेको भन्दै उद्योगहरुको लाईन काटिँदा श्रमिकहरुले काम नपाउने र थप बेरोजगारी समस्या हुने वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले बताउनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले विद्युत आपूर्तिको समस्याले प्लाष्टिक उद्योगहरु, भट्टीमा आधारित उद्योगहरु बन्द हुने र मजदुरहरु हटाउनुपर्ने अवस्था आउँदा समस्या हुने बताए । उनले उद्योग बन्द भएपछि काम लगाउने अवस्था पनि नरहने र मजदुरहरु उद्योगमा आएपछि ज्याला लिनका लागि हाजिर गरेर जाने भएकोले उद्योग व्यावस्थापन र मजदुरहरुबीच द्वन्द्व समेत हुन सक्ने समस्या रहने बताए ।
औद्योगिक करिडोरमा रहेको हिमाल आयरन स्टिलले भने किस्ताबन्दीमा बक्यौता रकम तिर्ने भएपछि विद्युत जोडिएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषका अनुसार देशभरबाट १२ वटा उद्योगहरुले बक्यौता तिरेका छन् । वीरगञ्ज –पथलैया औद्योगिक करिडोरमा काटिएका उद्योगहरुले भने बक्यौता अझै तिरेका छ्रैनन् ।