१४ कात्तिक,काठमाडौं । तिहारमा घर सजाउन प्रयोग हुने झिलिमिली बत्तीको आयात घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस्ता बत्तीको व्यापार आधाले घटेको हो ।
गत आर्थिक वर्ष २०८०/०८१ को तीन महिना अर्थात् असोज मसान्तसम्ममा साना झिलिमिली बत्ती मात्रै ९ करोड ८४ लाख रुपैयाँको आयात भएको थियो । यस अवधिमा सात लाख ७८ हजार ५८२ पिस आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।
चालु आर्थिक वर्षमा यस्ता बत्तीको आयात ५८.९ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ को असोज मसान्तसम्ममा चार करोड ७४ लाख रुपैयाँको तीन लाख १९ हजार ८४२ पिस घर तथा रुखमा लगाइने झिलिमिली बत्ती भित्र्याइएको छ ।
तिहारमा बिक्री हुने विभिन्न किसिमका बत्तीहरूको व्यापार झन्डै आधाले घटेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले गत वर्ष ४५ करोड रुपैयाँभन्दा बढीको बत्तीहरू आयात गरिएकोमा यस वर्ष त्यसको आधा मात्रै भित्र्याइएको बताए ।
“गत वर्ष आयात भएकोमा करिब ४० प्रतिशत सामान स्कटमै छ । यकिन तथ्यांक नभए पनि यस वर्ष २०–२५ करोड आयात भएको अनुमान छ,” अध्यक्ष देवकोटाले भने ।
युवाहरू विदेशिनु, नयाँ भवन तथा घर कम बन्नु र आर्थिक शिथिलताका कारण व्यापार घटेको उनको भनाइ छ । यस वर्ष भारतबाट आउने सामान आइपुगेको र बाटोको समस्या हुँदा केरुङ र तातोपानीबाट आउने सामानमा ढिलाइ भएको उनले बताए ।
भन्सार विभागको तथ्यांकअनुसार तिहारमा खासगरी भाइटिकामा प्रयोग हुने सामानको आयात भने समग्रमा बढ्दो छ ।
विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म ३२ करोड रुपैयाँको नरिवल आयात भएको छ । करिब २६ करोड रुपैयाँको काजु, १८ करोड ६० लाख रुपैयाँको बदाम तथा अलमण्ड र २० करोड ९८ लाख रुपैयाँको ओखर आयात भएको छ ।
यस्तै, एक करोड ४५ लाख रुपैयाँको पिस्ता, २१ करोड ६२ लाख रुपैयाँको सुपारी, एक करोड ३० लाख रुपैयाँको खजुर तथा छोकडा र दुई करोड ६५ लाख रुपैयाँको अंजिर आयात भएको छ । असोज मसान्तसम्म १० करोड ६२ लाख रुपैयाँको किसमिस आयात भएको भन्सार विभागले जनाएको छ । तीन महिनामा एक अर्ब ३० करोड रुपैयाँभन्दा बढीका यी सामग्री आयात भएको भन्सार विभागको तथ्यांक छ ।