१५ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले गाँजाका बोट फँडानी गरे पनि त्यहाँ गाँजाखेती गर्नेको सुइँको पाउन सकेको छैन । पर्सा प्रहरीले पछिल्लो साता दिनहुँजसो गाँजाको खेती भएका ठाउँमा फँडानी गर्दै आएको छ ।
पर्सा प्रहरीले गाँजाखेती भएका स्थानको फँडानी गरे पनि त्यसको खेतीमा संलग्नलाई भने बुधबारसम्म पक्राउ गरेको छैन । पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले सार्वजनिक वन तथा सार्वजनिक जग्गामा गाँजाखेती भएकाले पनि गाँजाखेतीमा संलग्न हुनेलाई पक्राउ गर्न नसकिएको दाबी गरेका छन् ।
पर्साका विभिन्न ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा गाँजाखेती भएका स्थानको पहिचान गरेर फँडानी गर्दै आइरहेका उनको भनाई छ ।
अहिलेसम्म पेसेवर रूपमा गाँजाखेती गर्ने को भने पहिचान हुन नसकेको तर पर्सा जङ्गलमा जोडिएका ग्रामीण भेगमा भने व्यावसायिक रुपमा नै गाँजाको खेती हुने गरेको उनले बताए ।
प्रहरीले ग्रामीण भेगमा जङ्गल नजिकका बस्तीमा गाँजाका केही बोट नष्ट गरे पनि स्थानीयको पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढ्दा गाँजाखेती मौलाएको छ ।
पर्सा प्रहरीले कात्तिक १० गते पनि पर्सागढी नगरपालिका वडा नम्बर १ झबराहमा पनि दुई बिघा क्षेत्रफलमा लगाइएको करिब १५ हजार गाँजाका बोट फँडानी गरेको छ । गत कात्तिक ७ गते पनि पर्सा प्रहरीले पटेवासुगौली गाउँपालिका वडा नम्बर २ थरकटीमा एक बिघा क्षेत्रफलमा लगाइएको करिब सात हजार गाँजा नष्ट गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गाँजा विभिन्न मञ्चमा छलफल र बहसको विषय भए पनि हालसम्म कानुन बनिनसकेकाले यसको कारोबार र खेती अवैध भएकाले प्रचलित कानुनको पालना गराउनु आफ्नो कर्तव्य भएको बताए ।