१७ कात्तिक,काठमाडौं । सर्बियाको नोभी साद सहरस्थित रेलवे स्टेशनको प्रवेशद्वारमा रहेको कंक्रिटको छाना खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ। घटनामा तीन जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
राजधानी बेलग्रेडबाट लगभग ७० किलोमिटर उत्तरपश्चिममा रहेको सहर नोभी सादमा करिब ३५ मिटर १ सय १५ फिट लम्बाइ भएको स्टेशनको छत भत्किएपछि घटना निम्तिएको हो।
सर्बियाकी आन्तरिक मन्त्री इभिका डेसिसले घटनाको पुष्टि गर्दै घाइते तीन जनालाई अस्पतालमा भर्ना गरिएको बताए। घटनालगत्तै एम्बुलेन्ससँगै अन्य आपत्कालीन सेवाको टोली घटनास्थलमा पठाइएको र बुलडोजरको सहयोगले भग्नावशेष हटाएर मानिसको खोजीकार्य भइरहेको बताइएको छ।
आन्तरिक मन्त्रालयको आपतकालीन व्यवस्थापन केन्द्रका प्रमुख लुका काजिकले कंक्रिटको तौल अत्याधिक रहेको कारण उद्धार कार्यमा जटिलता आएको र उद्धार अभियान जारी रहेको बताए।
केही दिन अघिमात्रै रेल स्टेशनको भवनको पुनर्निर्माण सम्पन्न भएको बताइए पनि भत्किएको छानाको भाग पुनर्निर्माणको हिस्सा नभएको स्पष्ट पारिएको छ । सीसीटिभी क्यामेराको फुटेजमा मानिसहरु कंक्रिटको छानामुनि रहेको बेन्चमा बसेको देखिन्छ, जुन अचानक खसेको बताइएको छ। एजेन्सी