१८ कार्तिक,सेढवा । पर्साको ग्रामीण किसानहरु सुर्तीबाली र तेलहन बाली अन्तर्गतकाे तोरी छर्न शुरु गरेका छन। भदइ मंसुली तथा चैते धान भित्र्याई सकेपछि खाली खेतमा तोरी तथा सुर्तीबालीको रोपाई शुरु गरेका हुन्।
खास गरी ठोरी गाउँपालिकाका खेतमा लगाईएकाे सम्पूर्ण धानबाली भित्र्याई सकेएकेपछि सूर्ती र ताेरीबालीका लागि खेत तैयारी भइसकेकाले अहिले रोपाई शुरु गरिएको ठोरी गाउँपालिका वडा नं.-५ सुवर्णपुरका किसान हरिबहादुर चाैँलागाईले बताए ।
किसानहरुले यी बाली कार्तिक महिनाको पहिलो सातामै रोपाई गर्न खेत तैयारी गरेका भएपनि कातिक ५ गते परेको बर्षाका कारण रोपाई गर्न ढिलो भएको चाैंलागाईकाे भनाइ छ।
कतिपय किसानहरुले सुर्तीको रोपाई गरी सकेको तर सो पानीले सुर्तीबाली नष्ट भएको किसान चाैंलागाईले बताए। गत बर्षको तुलनामा आवश्यकता अनुसार पानी परेका कारण तोरी छर्न जमिनमा ठिक मात्रामा चिसोपन भएकाले तोरी छरेको बताए।
तोरी तीन महिनाको समयावधीमा उखेली किसानहरुले भित्र्याउने गर्छन। कृषि ज्ञान केन्द्र पर्साको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढि तोरी उत्पादन ठोरी गाउँपालिकामा हुने गर्छ । त्यस्तै नगदेवालीमा पर्ने सुर्तीबालीको रोपाई धामाधम भइरहेकाे छ।
सुर्तीको बिउ उत्पादन गर्ने जिम्मा लिएका किसानहरुले ब्याडमा बीऊ तैयार गरिसकेकाे अवस्थामा अन्य किसानहरुले रोपाई शुरु गरेका हुन्। ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी लगायतका गाँउपालिकाका किसानहरुले सुर्तीको रोपाई कार्यमा व्यस्त रहेका छन्।
सुर्तीको बिरुवा उत्पादन गर्ने जिम्मा पाएका जिराभवानी गापा वडा नं.-४सुपौलीका किसान रामराज दासका अनुसार गत बर्षको तुलनामा सुर्तीबाली खेती बढेको बताए।
गत बर्ष ५२ वटा ब्याडमा बिरुवा उत्पादन गरेकोमा यस पटक ७४ वटा ब्याडमा बिरुवा उत्पादन गरेको दासले बताए। किसानले उत्पादन गरेको सुर्ती खरिद गर्ने कम्पनी सूर्य नेपालले यस क्षेत्रमा बार्ली जातको सुर्ती लगाउन निर्देशन दिएका किसान दासले बताए।
पर्सामा बार्ली र एच डी जातको सुर्ती खेती गर्ने गरिन्छ। बार्ली जातको सुर्तीको भाउ महंगो भएपनि उत्पादन कम हुने र बार्ली जातको सुर्तीको भाउ अलि कम भएपनि उत्पादन बढि हुने गरेका किसानहरुले जनाएका छन।
सुर्ती खेतीबाट किसानहरुले १५ हजारदेखि २५ हजार रुपैयासम्म आम्दानी गर्ने गर्दछन्। पर्सा जिल्लामा करिब एक हजार हेक्टर क्षेत्रफल जमिनमा सुर्ती खेती गरिन्छ र नेपाल भरीमा सबै भन्दा बढी सुर्ती उत्पादन पर्साकाे ठाेरीमा हुने गरेकाे छ ।