१९ कात्तिक, वीरगञ्ज । यसपालिको उज्यालो पर्व तिहार सकिएको छ । हिजो आईतबार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो ।
हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर भाइटीका मनाएका थिए । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए ।
अब तिहार सकिएसँगै तराईमधेशमा छठपर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठपर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । अहिले वीरगञ्जसहित तराई–मधेसमा छठको रौनक शुरु भएको छ ।
लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।
नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् ।
बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् ।
मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न सङ्घसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् ।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुने गर्छ ।
छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन रही आएको छ ।
पछिल्ला वर्षहरुमा मधेशी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ ।
छठ पर्वको रौनक तराई मधेशमा मात्र नभएर अहिले काठमाडौँ उपत्यकामा पनि देखिएको छ । काठमाडौं उपत्यकाका विभिन्न पोखरी तलाउमा पनि छठपर्वको दिन छठी माताको पूजा अर्चना गरिन्छ । विहीबार छठको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।
यसपालीको छठ पर्व भोलि मंगलबारबाट विधिवत शुरु हुँदैछ । भोलि नहायखाए अर्थात नुहाएर चोखो भई खाने दिन । पर्सी बुधबार रसिआव रोटी र विहिबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिईनेछ । शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्वको विधिवत समापन हुनेछ ।















