१९ कात्तिक, वीरगञ्ज । छठ पर्वका लागि वीरगञ्जका पोखरी तथा नदी घाटलाई विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगञ्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ ।
सर्वसाधारणले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजा गर्ने परम्परा रहेको छ । सोही अनुसार यहाँका सर्वसाधारणले आ–आफ्नो घरनजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ तथा सजावट गरेर चिटिक्क पार्ने काम गरिरहेका छन् ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह पनि वीरगन्ज महानगरभित्र मनाइने छठ घाटहरूको नियमित रूपमा निरीक्षण गरिरहेका छन् । उनले छठ पर्वलाई भव्य र सभ्य ढङ्गले मनाउने गरी तयारी तीव्र पारिएको जानकारी दिए ।
वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, मुर्ली पोखरी छठघाट, रानीघाट, छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठ पर्व मनाइँदैछ । यीबाहेक अन्य स्थानमा पनि छठका लागि आ–आफ्नो ढङ्गले झकिझकाउ गर्ने काम भइरहेको छ ।
वीरगञ्ज महानगरभित्र सजावट र झकिझकाउको हिसाबले भने घडीअर्वा पोखरीमा विशेष गर्ने गरिन्छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साह कानुका अनुसार घडीअर्वा पोखरीमा मनाइने छठ पर्वको झकिझकाउ सजावट हेर्नका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय शहरका पर्यटकहरूको पनि घुइँचो लाग्ने गर्दछ ।
समितिका अध्यक्ष कानुले घडीअर्वा पोखरीमा मनाउने छठ पर्व सुरक्षा, सजावट र सप्तरङ्गी बत्तीको झिलिमिलीले पनि अवलोकनकर्ताको मन जित्ने दाबी गरे ।
समितिका अनुसार पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी जगदीश टेन्टले पाएको छ । तराई–मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्ततिको सुख समृद्धिको कामना गर्दै मनाउने गरिन्छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।
छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरी सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानुनले घडीअर्वा पोखरीभित्रको सरसफाइलाई पनि तीव्र बनाएको जानकारी दिए । वीरगञ्ज महानगरले पनि घडीअर्वा पोखरीको वरपर डेंगुको सङ्क्रमण बढ्न सक्ने भन्दै ‘सर्च एन्ड डिस्ट्रोय’ गर्ने काम पनि गरिसकेको छ ।