१८ कात्तिक,काठमाडौं । स्पेनको भ्यालेन्सियामा आएको भिषण बाढीबाट मृत्यु हुनेको संख्या २०० नाघिसकेको छ । अहिले बाढीटग्रस्त क्षेत्रमा जनस्तरबाट पनि राहत र उद्धार अभियान चलिरहेको छ ।
बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा स्पेनका राजा फिलिप र रानी लेटिजियाको त्यहाँका जनताले विरोध गरेका छन् । जनताले राजा फिलिपलाई हिलोले हानेका थिए ।
जनताको विरोधपछि राजा फिलिप र रानी लेटिजियाले आफ्ना सबै भ्रमण स्थगित गरेका छन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार भ्यालेन्सियाको भ्रमणपछि राजा फिलिप र रानी लेटिजिया पश्चिममा रहेको चिभाको भ्रमण गर्ने कार्यक्रम थियो ।
यसअघि भ्यालेन्सियामा भएको प्रदर्शनपछि प्रहरीले चिभाको भ्रमणका क्रममा सडक अवरुद्ध गरेको थियो । भ्यालेन्सियामा राजा फिलिपविरुद्ध जनताको विरोधपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई पनि भ्यालेन्सियाको पिपोर्टाबाट सकुशल निकालिएको थियो ।
स्पेनिस च्यानल ला सेक्स्टाका अनुसार नागरिकहरूले प्रधानमन्त्रीलाई ‘विरोध र आक्रमण’ गरेका थिए । केहीले उनलाई माटो र अन्य वस्तुहरूले हानेका थिए ।
यसैबीच मौसम पूर्वानुमान महाशाखाले त्यस क्षेत्रमा फेरि ठूलो वर्षा हुने चेतावनी जारी गरेको छ ।