१९ कात्तिक,काठमाडौं । सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई भोलि सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।
बुधबार बेलुका नै रविको बयान सकिएको भएपनि बिदा भएका कारण सोमबार अदालतमा उपस्थित गराइने भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।
सहकारी ठगीसम्बन्धीमा प्रहरीले लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ गरेको थियो । हिरासतमा भएकाले उनले यो पटक भाइटीका लगाउन नपाएको रास्वपा नेता दीपक बोहोराको भनाइ छ ।
बोहोराका अनुसार रविलाई शुभेच्छुक र दुई जना दिदीहरूले फोटोमै टिका लगाएका छन् । उनी हिरासत रहँदा विभिन्न पुस्तकहरूको अध्ययन गरिरहेको रास्वपा नेताहरूको भनाइ छ ।
रविको बयान सकिएपछि उनीसँग जोडिएका अन्य व्यक्तिहरूको विषयमा पनि प्रहरीले अध्ययन अनुसन्धान गरिरहेको छ ।