Logo

२० कात्तिक,काठमाडौं । अमेरिकामा आज हुँदै गरेको आगामी राष्ट्रपति निर्वाचनमा मुख्य उम्मेदवारका रूपमा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकनका डोनाल्ड ट्रम्पले विश्वको ध्यान खिचेका छन् ।
तर खासै चर्चामा नआएका स्वतन्त्र र तेस्रो पार्टीका अन्य चार जना उम्मेदवार पनि राष्ट्रपतिको निर्वाचनमा भिड्दैछन् ।

राष्ट्रपति पदका लागि मुख्य प्रतिस्पर्धा ह्यारिस र ट्रम्पबीच देखिन्छ, तर अन्य उम्मेदवारहरूले पनि चुनावी माहोललाई थप रोचक बनाएका छन् ।
त्यस्तै अर्का उम्मेदवारमध्ये प्रख्यात प्राध्यापक र प्रगतिशील विचारक कोर्ने वेस्ट ७२ वर्षको उमेरमा स्वतन्त्र उम्मेदवारका रूपमा राष्ट्रपति बन्ने सपना देखिरहेका छन् । उनले येल प्रिन्सटन र हार्वर्डजस्ता ठूला विश्वविद्यालयहरूमा अध्यापन गरेका छन् र अहिले युनियन थियोलजिकल सेमिनरीमा दर्शनशास्त्रका प्राध्यापक छन् ।

ओबामा प्रशासनको आलोचना गर्ने वेस्ट, अमेरिकी समाजका समस्याहरूको बारेमा निकै स्पष्ट धारणा राख्छन् र समाज सुधारको आवाज उठाइरहेका छन् ।

ग्रीन पार्टीको टिकटमा सन् २०१२ र २०१६ मा राष्ट्रपतिको उम्मेदवारी दिएकी डा. स्टाइन पुनः सोही पार्टीबाट चुनाव लडिरहेकी छन् ।

७४ वर्षकी स्टाइन एक चिकित्सक तथा राजनीतिक कार्यकर्ता हुन् । उनले आफ्नो चुनाव अभियानमा ’आर्थिक अधिकारहरूको विधेयक’को माग राखेकी छन् जसमा रोजगार, स्वास्थ्य सेवा, आवास, भोजन र शिक्षाको सुनिश्चितता समावेश हुनुपर्ने माग छ ।

उनको अभियानमा जलवायु परिवर्तन र गर्भपतन तथा ट्रान्सजेन्डर अधिकारको सुरक्षा पनि प्राथमिकतामा छ ।

त्यस्तै ३९ वर्षका चेइस ओलिभर पूर्व डेमोक्र्याटिक समर्थक हुन्, जो अहिले वामपन्थी लिबर्टेरियन उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दैछन् ।

आफूलाई समलिंगी भनेर चिनाउने ओलिभर इराक युद्धको विरोध गर्दै आफ्नो राजनीतिक यात्रा शुरू गरेका थिए । उनले गाजामा इजरायलले गरेको कारबाहीको विरोध गरेका छन् र अमेरिकी संघीय रिजर्भ प्रणाली खारेज गर्न चाहन्छन् ।

त्यस्तै ४४ वर्षीया क्लाउडिया दे ला क्रूज राष्ट्रपतिका लागि समाजवादी उम्मेदवार हुन्, जसले पार्टी फर सोसलिज्म एन्ड लिबरेशनको टिकटबाट उम्मेदवारी दिएकी छन् ।

उनी एक युनाइटेड चर्च अफ क्राइस्टकी पादरी र न्युयोर्कको ’पिपुल्स फोरम’ की सह–संस्थापक हुन् । उनको अभियानले श्रमिक वर्ग र सीमान्तीकृत समुदायका मुद्दाहरूलाई प्राथमिकतामा राखेको छ ।

हालकी उपराष्ट्रपति ह्यारिस क्यालिफोर्नियाकी पूर्व प्रोसिक्युटर र सिनेटर रहिसकेकी छन् । उनी ६० वर्षको उमेरमा राष्ट्रपतिकी उम्मेदवार बनेकी हुन् । उनी अमेरिकी राजनीतिमा एक प्रभावशाली महिला नेतृका रूपमा मानिन्छिन् ।

पूर्वराष्ट्रपति ट्रम्पले २०२० मा दोस्रोपटकका लागि लडेको चुनावमा भोगेको पराजयपछि फेरि राष्ट्रपति बन्न प्रयास गरिरहेका छन् । ७८ वर्षका ट्रम्प व्यवसायी पनि हुन् ।

उनले यसअघिको निर्वाचनमा आफ्नो हार अस्वीकार गर्दै क्यापिटल हिलमा हिंसात्मक आन्दोलन गराएको आरोप खेपिरहेका छन् । उनी पनि अमेरिकी राजनीतिका एक प्रभावशाली व्यक्ति हुन् ।


सम्बन्धित समाचार