२१ कात्तिक, बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा विशेष नगरसभाको माग गरिएको छ ।
उपप्रमुख भोला प्रसाद अधिकारी सहित झण्डै ४० नगरसभा सदस्यहरूले विशेष नगरसभाको माग गरेका हुन् ।
उनीहरुले नगरसभा सञ्चालन नियमावली देखि नगर कार्यपालिका नियमावली संसोधन गरेरै भएपनि नगर प्रमुखलाई प्राप्त अधिकांश अधिकार कटौती गरी नगर कार्यपालिकामा ल्याउन प्रस्ताव गर्दै यस्तो माग गरेका हुन् ।
हाल कार्यपालिकामा अल्पमतमा रहेका नगर प्रमुख राजन पौडेललाई नियमावली संसोधन गरी नियन्त्रणमा राख्ने योजना अनुसार नै नियमावलीमा व्यापक फेरबदल गर्नुपर्ने प्रस्ताव सहित विशेष नगरसभा माग गरिएको बुझिएको छ ।
दशौं नगरसभादेखि सुरु भएको विवाद समाधान हुन नसकी बढ्दै जाँदा नगर प्रमुख राजन पौडेल समक्ष मंगलबार विशेष नगरसभाको माग गर्दै निवेदन पेस भएको हो ।
यसबारे नगर प्रमुख पौडेलले निवेदन पाएको तर अध्ययन गर्न बाँकी रहेको बताए ।
उनले मंगलबार निवेदन आएको र अध्ययनका क्रममा नियम संगत मिल्ने अवस्थामा विषेश नगर सभा बोलाउने जानकारी दिए ।