Logo

२१ कात्तिक,वीरगञ्ज । छठ पर्वको दोस्रो दिन अथवा खरनाको दिन पर्साको ग्रामीण भेगमा दुध र गोबरको अभाव भाएको छ ।

किसानहरुले गाईबस्तु पाल्न छोड्दै गएका कारण गाईबस्तुबाट उत्पादन हुने दुग्धजन्य पदार्थ र गोबरको अभाव भएको हो । छठ पर्व बस्ने ब्रतालुहरुको संख्या दिनानुदिन बृद्धि हुदै गएको र गाउँघरमा गाईभैँसी पालन गर्नेको सख्ंया कम हुदै गएपछि पर्वमा चाहिने दुध र गोबरको अभाव भएको छ।

धार्मिक परम्परा अनुसार पर्वको समयमा बिहान बेलुका घर आंगन शुद्ध पार्न गोबर र पानीले लिपपोत गरिने प्रचलन छ। तर बस्तुभाउ नभएका कारण गोबर र दुधको अभाव भएको स्थानीयले बताएका छन्।

आज ९बुधबार० खारनाको दिन बिहानैदेखि दुध किन्न बिजयबस्तीमा सर्वसाधारणहरुको लर्को देखिएको छ । ठोरी गाँउपालिका वडा नं ४ मा रहेको साइनो दुग्ध संकलन केन्द्रका संचालक खडक बहादुर श्रेष्ठका अनुसार गत बर्षको तुलनामा ५० प्रतिशत बढी दुध खपत भएको छ।

आज खारनाको दिनमा करिब एक हजार एक सय लिटर दुध बिक्री भएको श्रेष्ठले बताए। त्यस्तै घर आँगन लिपपोत गर्न आवश्यक गोबरका लागि गाईबस्तु पालेका किसानको गोठमा गोबर लिन एकाबिहानैदेखि मान्छेहरु पुग्ने गरेका छन।

बिगतमा प्रत्येक घरमा कम्तीमा एक जोडी गाईगोरु पाल्ने गरिएको थियो । गोरु खेत जोताईका काममा प्रयोगमा ल्याईन्थ्यो र गाईको गोबर घर आँगन लिपपोत गर्ने गरिएको र मलमा पनि प्रयोग गरिने गरिएको स्थानीयको भनाई छ । त्यस्तै छठ पर्वकै बेला तरकारीको मूल्य अकाशिएको छ ।

तिहारदेखि अहिले छठ पर्वसम्म स्थानीय बजारमा तरकारीको मूल्य ह्वातै बढेको छ । बजारमा नया आलू १ सय रुपैया प्रति किलो र पुरानो आलू ७० रुपैया रहेको छ। त्यस्तै काउली र भन्टा एक सय रुपैया प्रति किलो रहेको छ।

बन्दा ८० रुपैया, बोडी ८० रुपैया, पर्वर १०० रुपैया, करेला १०० रुपैया, तोरीको साग ५० रुपैया, टमाटर २०० रुपैया प्रति किलो र हरियो खुर्सानी ३०० रुपैया प्रति किलोका दरले बिक्री भइरहेका छन्। त्यस्तै लौका आकार अनुसार १०० देखि १५० रुपैया गोटाका दरमा बिक्री भइरहेका छन्।

स्थानीय उत्पादन कम भएको र छठपर्वमा सागसब्जी नै बढी खाने भएकाले पनि उपभोत्ताहरुको संख्या बढ्दा तरकारीको मूल्यमा वृद्धि भएको हो ।

स्थानीय उत्पादन नहुँदा बिचौलिया व्यापारीले ल्याउने तरकारी महंगोमा खरिद गर्न किसानहरु नै बाध्य भएका छन् । किसानले उब्जनी गर्ने कृषि उपजको भने कहिल्यै भाउ नपाउने तर, आफूले किनेर खानुपर्दा मंहगो मूल्य तिर्नुपर्ने अवस्था रहेको स्थानीय किसानको गुनासो छ ।


सम्बन्धित समाचार