२४ कार्तिक,वीरगञ्ज । मधेस प्रदेशको वीरगञ्जमा पहिलो पटक स्टार्टअप –नवउद्यमी) सम्मेलनको आयोजना गरिएको छ । वीरगञ्जको गण्डक स्थित क्लार्क होटलमा आयोजना गरिएको एकदिने नवउद्यमी सम्मेलनको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले उदघाटन गरेका छन् ।
उदघाटन सत्रमा बोल्दै मुख्यमन्त्री सिंहले नवउद्यमशिलताको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वीरगन्जमा भएको सम्मेलन मधेस प्रदेशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण रहेको बताउदै आफूपनि राजनीति छोडेपछि केही गर्न सकिन्छ कि ! भन्ने सोच राखेर सिक्न आएको बताए ।
उद्यम व्यावसायमा सबै सफल हुन्छन् भन्ने नहुने बताउदै हौसला, दृढशक्ति र आत्मविश्वासका साथ नयाँ उद्यमशिलताको विकास गर्न युवाहरुलाई आग्रह गरे । परम्परागत शिक्षाले उद्यमशिलताको विकास नहुने भन्दै मुख्यमन्त्री सिंहले आधारभूत तहदेखि नै व्यवहारिक शिक्षाको विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाली समाजमा काम ठूलो र सानो भन्ने धारणा रहेको बतउदै जबसम्म यस्ता धारणालाई हटाउन सकिदैन बेरोजगारी पनि नहट्ने उनको भनाई थियो । नेपालका अधिकांश पुरूषहरू वैदेशिक रोजगारीका लागि विदेश गएका र अधिकांश महिलाहरु घरमै बसेर समय खेर गईरहेको बताउदै त्यस्तो महिलाहरुको लागि उद्यशिलताको विकास विशेष केन्द्रित गर्नुर्ने बताए ।
मधेस प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा उद्यमशिलताका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न बजेट बिनियोजन गरेको जानकारी दिदै वीरगञ्जमा आईटी पार्क र माटो पार्कको लागि पनि बजेट राखेको बताए । उनले वीरगन्जमा स्थापना गरिने माटो पार्कको लागि महानगरपालिकाले जग्गा उपलब्ध गराए स्थानीय तहको सरकारसँग हातेमालो गरेर जाने बताए ।
नवउद्यमशिलताका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले उपलब्ध गराएको संघको १८ कठ्ठा जग्गामा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको उदघाटन सत्रमा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अहमद, मधेस प्रदेश निती आयोगका उपाध्यक्ष सोहन साह, वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, भारतको गुगल हेड अपूर्व चमरिया, महासंघका उपाध्यक्ष हेमराज ढकाल, नेपाल औद्योगिक व्यावसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।