Logo

२७ कात्तिक,जनकपुर । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०–८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा रु पाँच करोड २३ लाख मूल्य बराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ ।

गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सो सहुलियत दरको पसलबाट हालसम्ममा पाँच हजार छ सय प्याकेट नुन बिक्री गरेर रु दुई लाख ६१ हजार कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताए ।

सहुलियत दरका सो पसलबाट रु २४ प्रतिप्याकेट तथा डिलरमार्फत रु २६ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिए।


सम्बन्धित समाचार