Logo

२७ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एकैपटक १० हजार भन्दाबढी किशोरीहरुलाई आत्मारक्षाका लागि तालिम दिईने भएको छ ।

महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको मंगलबार पत्रकार सम्मेलन गरेर महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।बुधबार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगञ्जका ३८ वटा सामुदायिक विद्यालय सहित निजी विद्यालय र कलेज गरी १२५ वटा विद्यालयबाट १० हजार बढी छात्राहरुको सहभागिता रहने उनले बताए ।

एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्ड सहित गिनिज बुकमा महानगरको नाम लेखाउन सकिने पनि दावी गरे । यो तालिम सफल रुपमा सम्पन्न भएमा वीरगञ्जको पहिचान अन्तर्राष्ट्रिय रुपमा कहुने भएको हुँदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न पनि उनले आग्रह गरे ।

उनले भने, ‘गिनिज बुकमा नाम लेखाउने नै मुख्य उद्देश्य चाहिँ होईन । हामी वीरगञ्जका चेलीहरु विभिन्न खाले हिंसाबाट सुरक्षित हुनका लागि आत्मरक्षा तालिम दिन लागेका हौं ।

भारतका निर्भया र नेपालको निर्मला पन्तको जस्तो घटना कसैमाथि हुन नपाओस भन्ने हाम्रो मुख्य उद्देश्य हो । बुधबार एकदिन चारघण्टाका लागि दिईने प्रशिक्षणले मात्रै किशोरीहरुको रक्षा हुने नभई यसलाई निरन्तरता दिनका लागि नेपाल सरकारले गरेको नीतिगत निर्णय अनुसार हरेक विद्यालयमा हप्ताको एक दिन शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा आत्मरक्षाको तालिम अनिवार्य दिनुपर्ने गराएर निरन्तरता दिन्छौं ।’ मेयर सिंहका अनुसार प्रशिक्षकहरुले निःशुल्क प्रशक्षिण दिनेछन् ।

उनीहरुको बस्ने खाने व्यावस्था भने वीरगञ्ज महानगरपालिकाले आतिथ्यता सत्कारको रुपमा गर्नेछ । वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टीलाई बोलाएर सहभागिहरुलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए ।

उनले विश्वमा चर्चित प्रशिक्षकलाई वीरगञ्जमै बोलाएर प्रशिक्षण दिन पाउनुपनि वीरगन्जको लागि सुवर्ण अवसर भएको बताए ।आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्था सहित सुरक्षाको व्यवस्था मिलाइ सकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए ।

भारतबाट आएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्ट र फिटनेस प्रशिक्षक समेत हुनुहुन्छ । उहाँले बलिउड र हलिउडका स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएका छन् । ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक वैदले व्यक्त गरे ।

पत्रकार सम्मेलनमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरुलाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताउनु भयो । भोली हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन १ महिला स्वयंसेवीहरु खटाइएको छ ।


सम्बन्धित समाचार