२८ कार्तिक, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भिड हुने सरकारी कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका छन् ।
कर्मचारी अभावका कारण केही सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या आइरहेको गुनासो बढिरहेका बेला मन्त्री गुप्ताले सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका हुन् ।
तीनवटै तहमा दरबन्दी अनुसार ठूलो सङ्ख्यामा कर्मचारी पूर्ति हुन नसकेकाले आवश्यकता अनुसार कर्मचारीको दरबन्दी पूर्ति गर्न नसकिएको उहाँको भनाइ छ । यद्यपि, नीतिगत र व्यवस्थापन तहमा जनशक्तिको कमी हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग भइरहेको जानकारी उनले दिए ।
मन्त्रालयले अहिले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन प्रशासनिक सङ्गठनहरूको संरचनालाई कार्यबोझका आधारमा समयसापेक्ष रूपमा परिवर्तन गर्दै लगेको मन्त्री गुप्ताको भनाइ छ । सङ्घीय मन्त्रालय र कार्यालयमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) कार्य सम्पन्न गरी समग्रमा सङ्घीय कार्यालयमा २१० वटा दरबन्दी कटौती गरिएको जानकारी उनले दिए ।
यस्तै, उच्च व्यवस्थापन तहमा नेतृत्व विकासमा सहयोग पुर्याउने गरी २५ जना सहसचिवलाई तालिम प्रदान गरी कर्मचारीको क्षमता विकास र कर्मचारी व्यवस्थापनमा मन्त्रालय सक्रिय भएको उनको दावी छ ।