२८ कार्तिक,सेढवा । पर्साको ग्रामीण भेगका किसानहरुलाई बर्षेबाली धान भित्र्याउन भ्याई नभ्याइ भएको छ । किसानहरुले लगाएको बार्षेबाली धान पाकि सकेकाले भित्र्याउन व्यस्त भएका हुन् ।
धानबाली अन्तर्गत सोना मंसुली र मोटरी मंसुली धान भित्र्याउने क्रम जारी रहेका छन् । जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी लगायतका केही किसानहरुले सोना सारो, भदैया मंसुली कतरनी तथा उत्नत जातको (हाईब्रिड) जातका धानबाली भित्र्याई सकेपनि अन्य जातका धानको कटानी शुरु भएको छ ।
कृषि क्षेत्रमा बिभिन्न आधुनिक मेशिन तथा औजारको बिकास भएसंगै धानबाली भित्र्याउन सहज भएको पटेर्वासुगौली गापा वडा नं ३ का भागवत चौधरीले बताए ।
यस क्षेत्रमा प्रयोग हुने हार्भेस्टर मेशिन, रिपर तथा थ्रेसर लगायतका आधुनिक मेशिनको प्रयोगका कारण धानबाली कटानी गर्न र दाई गर्न निकै सहज भएको चौधरीले बताए । तर हार्भेस्टर मेशिनको प्रयोगले धानबाली कटानी गर्दा पशुचौपायाका लागि चाहिने पराल नष्ट हुने गरेको जिराभवानी गाउपालिका बडा नं २ शान्तिनगरका किसान दधिमाया पौडेलले बताईन् ।
गाईबस्तुका लागि मुख्य दाना पराल भएकाले हार्भेस्टर प्रयोग गरी कटानी गर्दा पराल खेतभरी नै छरिने र जम्मा गर्न निकै कठिनाई हुने गरेको पौडेलको भनाई छ । हार्भेष्टर मेशिनबाट धान दाई गर्दा पराल नोक्सान भएर गाईभैसी पालनमा कठिनाई हुने गरेको पौडेलको भनाई छ ।
परम्परागत तरिकाले धान काट्ने र दाई गर्दा पराल गाईवस्तुलाई खुवाउनका लागि हुने भएपनि आधुनिक मेशिनको प्रयोग गरी धान कटानी गर्दा परालनको नोक्सानी हुनुका साथै धान भिजेकै आवस्थामा घर ल्याउनु पर्ने बाध्यता हुने गरेको जिराभवानी गाउँपालिका सेढवाका किसान अमृत चौधरीले बताए ।
हार्भेष्टरले कटानी गरेको धानलाई घाममा ५÷६ दिनसम्म लगातार सुकाउनु पर्ने भएकाले किसानहरुले समस्या भोग्नु परेको गुनासो गरे । यसका साथै अहिले राम्रोसँग घाम नलागेका कारणले धान सुकाउन समस्या भइरहेका चौधरीले बताए । बिहान धान सुकाउन फिजाएर राख्ने तथा साझ जम्मा गरी पालले छोप्नु परेकाले समस्या भएका चौधरीले बताए ।