२९ कात्तिक,सेढवा । बिगत केही बर्षदेखि पर्सामा खेतियोग्य जमिनमा उद्योग, कलकारखाना संचलान हुन थालेपछि कृषिजन्य उत्पादनमा ह्रास आएको छ । खेतीयोग्य जमिनहरु अन्य कार्यको लागि प्रयोग हुन थालेपछि खद्यान्न उत्पादनमा ह्रास आएको हो ।
पर्साका ग्रामीण क्षेत्रमा हुलाकी राजमार्ग, जनता सडक, गण्डक सडक तथा बीरगंज– पोखरिया – भिस्वा सडक बर्षातको समयमा समेत संचालनमा आउन थालेपछि खेतीयोग्य जमिनमा उद्योग कलकारखानाको नाउँमा विक्री हुन थालेको हो । खेतीयोग्य जमिनमा बिभिन्न किसिमका उद्योग , कलकरखाना , कुखुरापलन, गाईभैसी पालन तथा प्लटिङ्ग गर्न थालेपछि धान, गहुँ, मकै र तोरी उत्पादनमा कमी आउने देखिएको छ ।
यी सडकखण्डहरुको आसपासमा रहेका खेतीयोग्य जमिन विभिन्न उद्योगका नाउँमा खरिद गरी अहिले बाझै राखेका छन। पटेर्वासुगौली गाउपालिका वडा नं. ५ स्थित हुलाकी राजमार्गसंगै रहेका मनिहर्वा र निचुटाको बीचमा खरिद गरिएका करिब २५ बिघा जमिन अहिले बाझै रहेको छ ।
त्यस्तै जिराभवानी गाउपालिका वडा नं.-४ मा चिनी कारखानाका लागि ३५ बिघा जमिन खरिद गरिएको स्थानियले जनाएका छन। साथै जिराभवानी गाँउपालिका वडा नं.- २ मा बिद्युत उत्पादनका लागि करिब दश बिघा खेतीयोग्य जमिनमा सोलार प्लान्ट स्थापना हुदै छ । खासगरी हुलाकी राजमार्गमा पर्ने जग्गा उद्योग संचालनका लागि सयौं बिघा खेतीयोग्य जमिन खरिद गरिएका स्थानियले जनाएका छन। कतिपय जग्गामा उद्योग पनि संचालन भइसकेका छन।
त्यस्तै ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउपालिका तथा पर्सागढी नगरपालिका र बीरगंज महानगरपालिकाको खेतीयोग्य जमिनमा पोल्ट्री फार्महरु संचालनमा आएका छन। त्यस्तै कतिपय स्थानमा घर बनाउन प्लटिङ्ग तथा खेतीलाई बिस्तापित गरी बगैचा तथा मत्स्य पालनका लागि पोखरी निर्माण गरिएका छन।
कृषि ज्ञान केन्द्र पर्साको तथ्याङ्ग अनुसार पर्सामा ५४ हजार ७ सय ३२ हेक्टर जमिन खेतियोग्य रहेका केन्द्रका सूचना अधिकारी उमेश थापाले बताए। जसमध्ये आर्थिक बर्ष २०७९/८० सालमा ४७ हजार १ सय ३० हेक्टर जमिनमा खेती भइरहेको र बाकी जमिनमा बगैचा तथा पुराना पोखरी र जलाश्य रहेका केन्द्रका सूचना अधिकारी थापाले बताए।
अहिले प्लटिङ्ग, उद्योग संचालन र थप नयाँ पोखरी निर्माण गर्ने तथा पोखरी निर्माण लगायतका क्रियाकलापका कारण हजारौ बिघा खेतीयोग्य जमिन मासिएको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव कुशवाहाले जानकारी दिए। दिन प्रति दिन जनसंख्या बृद्धि भइरहेको र खेतीयोग्य जमिन कम हुदै गएका कारण भबिष्यमा खद्यान्न संकट हुने प्रमुख कुशवाहाले बताए।
हाल पनि पर्सा जिल्लामा आवश्यकता अनुसार उत्पादन नभएका, जसका कारण भारतीय बजारबाट खद्यान्न आपूर्ति भइरहेको प्रमुख कुशवाहाले बताए। कृषिबाट खद्यान्न आपूर्ति गर्न जग्गामा बार्षिक ३–४ बाली लगाई खद्यान्न उत्पादन गर्ने तथा उत्पादन बढाउन उन्नत जात (हाई ब्रिड) जातका बिऊबीजन प्रयोग गर्न आवश्यक रहेका प्रमुख कुशवाहाले बताए। यसकालाई बीऊबीजन, रासायनिक, सिचाई लगायतका आधारभूत आवश्यकता सरकारले पूरा गर्न जरुरी रहेका प्रमुख कुशवाहाले बताए।