२९ कात्तिक,वीरगञ्ज । नोभेम्बर १४ मा मनाईने विश्व मधुमेह दिवसका अवसरमा नेपाल मेडिसिटी वयोधा अस्पतालले सशस्त्र प्रहरी बल, श्री नं.१३ गणसँग सहकार्य गरी मधुमेह सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र सशस्त्र प्रहरी नायव उपरीक्षक लगायतका प्रमुख व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको हो । नेपाल मेडिसिटी वयोधा अस्पतालको तर्फबाट अस्पतालका निर्देशक बिजय रिमाल र वरिष्ठ फिजिसियन डा. अभिषेक सिंहको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख प्रशिक्षक डा. अभिषेक सिंहले मधुमेहको रोकथाम, प्रारम्भिक निदान र यससँग सम्बन्धित जोखिमबारे जानकारी गराएका थिए ।
सहभागीहरूको सुगर जाँच पनि अस्पतालको क्लिनिकल टोलीले गरेको थियो। सशस्त्र प्रहरी प्रमुख (एसपी) राधेश्याम धिमालले मधुमेहजस्तो तीव्र गतिमा बढिरहेको स्वास्थ्य समस्याबारे सचेतना कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको र यस प्रकारका सचेतना कार्यक्रमले मधुमेहबारे जनचेतना फैलाउन र प्रारम्भिक निदानलाई प्रवर्द्धन गर्न मद्दत पुर्र्याउने बताए ।
नेपाल मेडिसिटी वयोधा अस्पतालले विशेष अवसरहरुमा विभिन्न स्वास्थ्य सम्बन्धी यस्ता जनचेतना कार्यक्रम नियमित रूपमा गर्दै आइरहेको अस्पतालले जनाएको छ। अस्पतालले सर्वसाधारणसँग जोडिन र बीरगञ्जको स्वास्थ्य क्षेत्रको परिदृश्यमा परिवर्तन ल्याउन प्रयास गरिरहेको छ।
यस कार्यक्रमको सफलतासँगै अस्पतालले देशका तीनवटै सुरक्षा संगठनहरूसँग जनचेतना कार्यक्रमहरू सञ्चालन गरी सफलतापूर्वक सहकार्य गरेको छ। यसअघि, विश्व फिजियोथेरापी दिवसको अवसरमा पर्सा जिल्ला प्रहरी कार्यालयमा र विश्व स्ट्रोक दिवसको अवसरमा नेपाली सेनाको जितपुर सिमरामा रहेको २८ नं. फिल्ड एम्बुलेन्समा यस्तै कार्यक्रम सम्पन्न गरिसकेको अस्पतालले जनाएको छ। डा. अभिषेक सिंहका अनुसार अस्पतालले सधैं प्रवर्द्धनात्मक र रोकथाममूलक स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिंदै आएको र यो कार्यक्रम पनि त्यसको एउटा उदाहरण भएको बताए ।