३० कात्तिक, वीरगञ्ज । शिख धर्मका प्रवर्तक गुरु नानकको प्रकाश उत्सव (जन्म जयन्ती) आज हर्षोल्लासका साथ मनाईंदै छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको प्रकाश उत्सव मनाउने गरिन्छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि वीरगञ्जका शिख समुदायले गुरु नानकको प्रकाश उत्सवका अवसरमा विशेष ५ दिने कार्यक्रम आयोजना गरेका छन् ।
उनीहरुले विगत पाँच दिन देखि हरेक बिहान भारतिय वाणिज्य दुतावासबाट शबद किर्तन(भजन) गाउँदै, गुरुवाणी श्रवण गर्दै, गुरु नानकको चर्चाका साथ प्रभातफेरी आयोजना गरेका छन् ।
मुख्य दिनको ४८ घण्टा अगाडी देखि गुरुद्धारामा सुरु गरिएको अखण्ड पाठको आज समापन हुने र आज विशेष रुपमा गुरु नानकको आराधना गर्दै सबै अतिथिहरुमा लंगर(प्रसाद) वितरण गरिने जशपाल सिंहले जानकारी गराए ।
गुरु नानकको प्रकाश उत्सव(जन्म) वि.सं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्ने प्रवर्तकको रुपमा उनलाई चिनिन्छ ।
यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको प्रकाश उत्सव मनाउने गरिन्छ ।
शिखसमुदायको प्रथम गुरु मानिने गुरु नानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने‘लङ्गर परम्परा’को थालनी गरेका थिए ।
निर्गुण उपासनाका पक्षपाती गुरु नानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्ने विचारमा विश्वास गर्थे ।