Logo

३० कार्तिक, काठमाडौं । नेपालले आज बङ्गलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बङ्गलादेश पठाउने भएको हो ।

भारतबाट स्वीकृति आएसँगै आज बङ्गलादेशलाई बिजुली बिक्री गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिएका छन् ।

नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । सोहि अनुसार नेपालले यस वर्ष शुक्रबार एक दिन मात्रै बङ्गलादेशलाई बिजुली बेच्दैछ ।

त्यसपछि बङ्गलादेशलाई बिजुली बेच्न अर्को वर्ष कुर्नु पर्नेछ । नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ ।

बङ्गलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुनेछ । कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ ।

प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ । गत असोज १७ मै नेपाल, भारत र बङ्गलादेशबीच ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भए पनि भारतको स्वीकृति नआएकाले ढिलाई भएको थियो ।

सम्झौता हुँदा यसैवर्ष एक दिन भए पनि बिजुली बिक्री गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । ६ वर्षको गृहकार्यपछि भएको नेपाल र बङ्गलादेश विद्युत् बिक्री सम्झौता (पीएसए) कार्यान्वयनमा आउने भएको छ ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेशलाई बिक्री गर्ने जनाएको छ ।

भारतको बजारमा बिजुली बिक्री गर्न २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाले यसअघि नै स्वीकृति पाइसकेको छ ।

नेपालले डलरमा विद्युत् बिक्री गर्न लागेको पहिलो पटक हो । नेपालले हाल भारतसँग भने भारतीय रुपैयाँमै कारोबार गर्दै आएको छ ।


सम्बन्धित समाचार