१ मंसिर, सेढवा (पर्सा) । जिराभवानी गाउँपालिकामा जङ्गली हात्तीको समुहले आतंक मचाएको छ ।
शुक्रबार बेलुका राष्ट्रिय जङ्गलबाट १५/१६ वटा हात्तीको समूहले वडा नं २ बसन्तपुरका प्रेमनारायण पटवारीको एक घर भत्काउनुको साथै धानबालीमा क्षति पुर्याएको छ ।
करिब साढे ७ बजे उक्त हात्तीको समूहले स्थानिय प्रेमनारायण पटवारी, रमेश खाँ, शिवशंकर साहको दश कट्ठा पाकेको धानबाली खानुका साथै माडेर क्षति पुर्याएको छ । यसका साथै दमकल र ट्यूबवेलमा समेत क्षति पुर्याएको स्थानियले बताएका छन् ।
खेतमा रहेको पिपलबोटमा मचान (खेत हेरचाह गर्नका लागि बनाइएको विस्तारा) बनाई बाली जोगाउन बस्दै आएका प्रेमनारायण पटवारीका अनुसार हात्तीको समुहले खेतमा पसेपछि हाती धपाउन गाउँमा फोन गरी सहयोगका निम्ति स्थानीयहरुलाई बोलाएको बताए ।
गाउँलेहरुले दुई वटा ट्याक्टर लिएर हात्ती धपाउन आएका र ट्याक्टरको ठूलो स्वर तथा टिन बजेको आवाजले हाती जङ्गल पसेको उनको भनाई छ । बेलुकी साढे ७ बजे बस्तीमा पसेको हात्ती रातको करिब १० बजे जंगल पसेका पटवारीले बताए ।
फेरी रातको करिब साढे १२ बजे पुनः हाती खेतमा पसेर बालीमा क्षति पुर्याएका पटवारीले बताए । उक्त हात्तीको समूहले काठमान्डौ टोल शान्तिनगरका किसानहरुले लगाएका तोरी बालीमा समेत क्षति पुर्याएको छ ।