३ मंसिर,काठमाडौं । भारतको राजधानी दिल्लीको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । उच्च वायु प्रदूषण भएपछि आजदेखि ग्रेडेड रेस्पोन्स एक्सन प्लान को चौथो चरण लागू भएको छ ।
वायु प्रदुषण बढ्दै गएपछि वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम ले यस्तो निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यस्तो अवस्थामा ठूला सवारी साधनको आवतजावतमा रोक लगाइएको छ । तर, अत्यावश्यक सामान बोकेका ट्रकलाई प्रवेश गर्न दिइनेछ ।
अर्कोतर्फ सरकारी तथा निजी कार्यालयका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । साथै, दिल्ली र एनसीआर राज्यका सरकारहरूलाई कक्षा ६ देखि १२ सम्म अनलाइन अध्ययनहरू सञ्चालन गर्न सिफारिस गरिएको छ । अनलाइन कक्षाहरू अर्को आदेश नभएसम्म जारी रहनेछन्।
दिल्लीमा ट्रकको प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ । तर, अत्यावश्यक सामान बोक्ने ट्रक र एलएनजी, सीएनजी र इलेक्ट्रिक ट्रकलाई मात्र अनुमति दिइनेछ । दिल्लीमा प्रदूषण गर्ने ट्रक र व्यावसायिक चारपाङ्ग्रे सवारी साधनको प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।
आगामी दिनमा वायु गुणस्तर सूचक (एक्यूआई) अत्यन्त गम्भीर श्रेणीमा रहने अनुमान छ । एक्यूआई ४५० भन्दा माथि हुनु धेरै गम्भीर मानिन्छ ।