५ मंसिर, काठमाडौं । आप्रवासी नीति खुकुलो बनाउने नियमावलीलाई स्पेन सरकारले अनुमोदन गरेको छ । मंगलबार आप्रवासन सम्बन्धी मन्त्री एल्मा साइजले पत्रकार सम्मेलन गर्दै सरकारले नयाँ नीति अनुमोदन गरेको जानकारी दिएकी हुन् ।
विगत ६ महिनादेखि चर्चामा रहेको आप्रवासन सम्बन्धी नीति अन्तत स्पेन सरकारले अनुमोदन गरेको हो । जसअनुसार स्पेनले आगामी तीन वर्षसम्म प्रतिवर्ष करिब तीन लाख अवैध आप्रवासीहरूलाई वैध बनाउने तयारी थालेको छ ।
श्रम शक्ति विस्तार गर्न खोजिरहेको स्पेनले त्यस्तो निर्णय गर्न लागेको आप्रवासन मन्त्री एल्माले बताइन् । ‘स्पेनले खुल्ला र समृद्ध देश बन्ने कि बन्द र गरिब बन्ने भन्ने विकल्पको बीच रोजाइ गर्नुपर्दा हामीले पहिलो विकल्प रोजेका छौं,’ मन्त्री साइजले भनिन् ।
सामाजिक सुरक्षा प्रणालीलाई कायम राख्न स्पेनलाई वार्षिक करिब २ लाख ५० हजारदेखि तीन लाखको संख्यामा कर तिर्ने विदेशी कामदारहरूको आवश्यकता रहेको पनि उनले प्रष्ट पारिन् ।
पेद्रो सान्चेजको नेतृत्वमा रहेको सरकार आप्रवासीहरूप्रति मुख्यतः सहानुभूतिपूर्ण देखिएको छ । जबकि पोर्चुगल, इटाली र जर्मनीजस्ता अन्य युरोपेली देशहरूले सीमा नियन्त्रणमा कडाइ गर्न खोजिरहेका छन् ।
अब आवासीय अनुमति कार्ड लिन सहज
नेपालले स्पेनसँग श्रम सम्झौता गर्ने चर्चा चलिरहेको बेला स्पेन सरकारले सिजनल भिसाको लागि पनि विशेष व्यवस्था कायम गर्ने आप्रवासी सम्बन्धी नयाँ नीतिमा उल्लेख छ । स्पेनी पत्रिका ए.एस. डटकमका अनुसार अनियमित अवस्थामा रहेका आप्रवासीहरुलाई वैधानिक गर्न नयाँ नीतिले सहज बन्ने भएको छ ।
जस अन्तर्गत हालसम्म कायम रहेका ‘अराइगो सोसियाल’ र ‘अराइगो लाबोराल’ दुई भिन्न प्रावधानलाई समेटेर ‘अराइगो सोसियो लाबोराल’ भन्ने नयाँ प्रावधान अनुमोदन गरिएको छ । स्पेनमा वैधानिक हुन आवश्यक पर्ने न्यूनतम तीन वर्षको बसाइ अवधि (पात्रोनामेन्तो) लाई दुई वर्ष कायम गर्ने निर्णय गरिएको उल्लेख छ ।
सरकारद्वारा जारी प्रेस नोट अनुसार पनि आप्रवासीलाई वैध बन्नका लागि अराइगो अन्तर्गत पाँच किसिमका विकल्प ल्याउने जनाइएको छ । जसअनुसार ‘अराइगो सोसियाल’, ‘सोसियो लाबोराल’, ‘फ्यामिलियार’, ‘सोसियो फोरमातिभो’ र ‘सेगुन्दा ओपोरतुनिदाद’ रहेका छन् । आप्रवासन सम्बन्धी नयाँ नियमले विशेषतः तीन मुख्य क्षेत्रलाई समेटेको छ । जस अनुसार काम, शिक्षा र परिवार सम्बन्धी नीतिमा सुधार गरिएको सरकारद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
पहिलो अस्थायी आवासीय अनुमति पत्र (टिआरसी) को अवधि एक वर्ष र नवीकरणपछि सिधै ४ वर्षको म्याद कायम गरिने पनि उल्लेख छ । साथै अध्ययनका लागि स्पेन आएका विद्यार्थीहरुलाई हप्तामा ३० घण्टासम्म काम गर्न अनुमति दिइने जनाइएको छ ।
स्पेनको आप्रवासी नीति खुकुलो भएपछि अन्य युरोपेली मुलुकबाट स्पेन जाने नेपालीको चाप झन् बढ्ने देखिएको छ । आप्रवासी नीति सम्बन्धी चासो राख्दै आएकाहरुले सरकारले नयाँ नियम अनुमोदन गरे तापनि व्यावहारिक रुपमा लागु हुन अझै केही समय लाग्नसक्ने बताउँन् ।