६ मंसिर,मस्को । रूसले बिहीबार युक्रेनमाथि ठूलो आक्रमण गरेको छ। त्यसक्रममा रुसले आफ्नो दक्षिणी आस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय ब्यालेस्टिक मिलाइल हानेको छ ।
रूसले एक हजार दिनदेखि जारी यो युद्धका क्रममा पहिलो पटक शक्तिशाली र लामो दूरीको मिसाइल प्रयोग गरेको हो। युक्रेनी वायुसेनाले पनि यस आक्रमणको पुष्टि गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा निर्मित लामो दूरीका मिसाइल रुसका भित्री सहरसम्म हान्न युक्रेनलाई अनुमति दिएलगत्तै युद्ध बढ्ने चिन्ता विश्वजगतमा छ ।
यस्तोमा युक्रेनले केही मिसाइल रुसका भित्री भागसम्मलाई लक्षित गर्दै हानेपछि मस्कोले जवाफस्वरुप अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल हानेको हो ।
यसबारेमा मस्कोले दुई महिनाअघि नै अमेरिकाले यदि लामो दूरीका हतियार युक्रेनलाई चलाउन दिए युद्ध र तनाव उचाइमा पुग्ने चेतावनी दिएको थियो ।
रूसले निप्रो शहरको मध्य–पूर्व क्षेत्रमास्थित उद्यम र महत्वपूर्ण पूर्वाधारलाई मिसाइलबाट निशाना बनाएको छ । तर अहिलेसम्म अन्तरमहादेशीय मिसाइलबाट सैन्य या गैरसैन्य कुन पूर्वाधारलाई लक्षित गरिएको हो खुलिसकेको छैन । यसबाट भएको क्षतिको विवरण पनि आइसकेको छैन ।
अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको दूरी कम्तीमा पनि हजार किलोमिटर हुन्छ । यिनलाई परमाणु वारहेड पठाउने काममा प्रयोग गर्न सकिन्छ । अर्कातिर यिनको प्रयोग परम्परागत वारहेडका लागिसमेत प्रयोग गरिन्छ । युक्रेनको वायु रक्षा प्रणालीले यस हमला क्रममा ६ केएच–१०१ मिसाइल नष्ट गरिएको दाबी गरेको छ ।
युक्रेनी वायुसेनाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रूसकोो आस्त्रखान क्षेत्रबाट हानिएको थियो । यस हमलाका क्रममा प्रयोग गरिएको हतियारबारे पनि रुसी सेनाले जानकारी दिएको छ । रसियन सेनाले कुन प्रकारको अन्तरमहादेशीयय ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको भन्ने खुलाएको छैन । यी दुई छिमेकी देशबीच ३३ महिनादेखि युद्ध जारी छ । युक्रेन सुरुदेखि नै अमेरिकाको आडमा युद्ध लडिरहेको छ ।