९ मंसीर, काठमाडौ । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेश पछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
उनलाई आइतवार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार वीर अस्पतालमा भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले बताए ।
आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रहरी हिरासतमा रहेका प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ लामो समय देखि क्यान्सर रोगबाट ग्रसित रहदै आएका छन् ।
आइतबार म्याद थपका लागि उपस्थित गराइएका प्रसाईँले इजलासमा आफू क्यान्सरको बिरामी भएको भन्दै अस्पताल जान पाउनुपर्ने बताएका थिए ।
न्यायाधीश पौडेलले गरेको आदेशमा भनिएको छ, ‘सम्बन्धित चिकित्सकसँग समन्वय गरेर उचित उपचारको प्रबन्ध गर्नु ।’
अदालत उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान गर्न १० दिनको म्याद मागेको थियो ।