१३ मंसिर,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै “नयाँ भनेर आएको दलको टाउकोमै समस्या छ” भन्दै टिप्पणी गरेका छन् ।
कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले पुराना ठूला दलहरू कांग्रेस, एमाले, र माओवादीभित्र समस्या रहेको स्वीकार गर्दै नयाँ पार्टीका शीर्ष नेतृत्वमै समस्या रहेको दाबी गरे ।
उनले भने, “मेरै पार्टीभित्र समस्या छ, एमाले र माओवादीमा समस्या छ । समस्या सबै दलभित्र छ । तर, नयाँ भनेर आएको दलको त झन् माथि टाउकोमै समस्या रहेछ ।”
सोही सभामा बोल्दै अर्का महामन्त्री विश्वप्रकाश शर्माले कुनै समूहले दललाई नरोज भन्नु मानिसको स्वतन्त्र विवेकमाथि हुकुमी शैली भएको टिप्पणी गरे । शर्माले भने, ‘कुनै व्यक्ति स्वतन्त्र पनि हुन सक्छ । कोही व्यक्ति कुनै दलमा पनि हुनसक्छ । पुरानाको दिन गए भन्ने मनोविज्ञानसँग हामी सहमत छैनौं ।‘
पुरानाको दिन गए भन्नेहरुले धर्ती र पृथ्वीको इतिहास विर्सेको शर्माले टिप्पणी गरे ।