Logo

तस्बिर एजेन्सी

१३ मंसिर,बेरुत । लेबनानमा इरान समर्थित सशस्त्र समूह हिजबुल्ला र इजरायलबीच बुधबार (नोभेम्बर २७) मा युद्धविराम सम्झौता भयो । यो सम्झौताले क–कसको जित भयो ? भनी अहिले अन्ताराष्ट्रिय सञ्चारमाध्यममा चर्चा भइरहेको छ ।

इजरायलले सन् २०२३ अक्टोबरमा गाजामा आक्रमण गर्न सुरु गरेपछि हिजबुल्लाले इजरायल भित्रबाटै रकेट प्रहार गर्न थाल्यो । हिजबुल्लाले हमासलाई खुलेर समर्थन गर्दै आएको थियो ।

कहाँ कस्तो चर्चा ?

इजरायल र हिजबुल्लाबीच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको थियो । सम्झौतासँगै गाजामा जारी युद्ध र उत्तरी मोर्चामा हिजबुल्लासँगको सम्बन्ध टुटेको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इजरायलको अङ्ग्रेजी पत्रिका हारेट्जका स्तम्भकार रविट हेचले हमास र हिजबुल्लाबीचको सम्पर्क टुटाउनु इजरायलको जित भएको र यसलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले समर्थन गर्न सक्ने बताएका छन् ।

‘लेबनानमा भएको सम्झौतापछि, हमास एक्लिएको छ । हिजबुल्लालाई सबै मामिलाबाट हटाइएको छ, अब युद्धमा हमास एक्लो भएको छ’‚ ताजा सम्झौताको घोषणा गर्दै प्रधानमन्त्री नेतन्याहुले भने ।

हिजबुल्ला अहिले कमजोर भएको र यसलाई बलियो बनाउन समय लाग्ने चर्चा गरिएको छ । इजरायलले मौका दिएपछि मात्र हिजबुल्लाले बल प्राप्त गर्न सक्ने टिप्पणी इजरायली सञ्चारमाध्यमले गरेका छन् ।

‘हिजबुल्लाका लागि यो कुनै रणनीतिक हार होइन, तर उत्तरी सीमामा भएको युद्धमा इजरायलको जित पक्कै हो । हिजबुल्ला नष्ट भएको छैन तर नाटकीय रूपमा कमजोर भएको छ’‚ इजरायलको वाल्ला न्यूज वेबसाइटका कूटनीतिक संवाददाता बराक रविद लेख्छन् ।

तर लेबनानको सिमानामा बस्ने इजरायलीहरु हिजबुल्लाले बिस्तारै आफूलाई पुनर्निर्माण गर्ने बताउँछन् । दक्षिणी लेबनानका गाउँहरूमा हिजबुल्लाले फेरि जरा गाड्ने उनीहरुको बुझाइ छ । लेबनानको सिमानामा रहेको इजरायली सहर किरियत शमोनाका मेयर, युद्धविराम लागू हुनेमै शंका व्यक्त गर्छन् । दक्षिणी लेबनानमा इजरायली सेनाले एउटा बफर जोन बनाउनुपर्ने उनको धारणा छ ।

हिजबुल्लासँगको सम्झौतापछि गाजामा जारी युद्ध र इजरायली बन्धकहरूलाई लिएर पनि प्रश्न उठिरहेको बिबिसीले लेखेको छ ।

येडियोट ह्रोनोटमा लेख्दै सिमा काडमोनले, लेबनानमा आफूले गरिरहेको कार्य गाजामा किन गर्न सकिरहेको छैन भन्ने कुरा इजरायली जनतालाई बताउन प्रधानमन्त्री नेतन्याहु असफल भएको पनि टिप्पणी गरेकी छिन् ।

‘नेतन्याहुले गाजाको सट्टा लेबनान र हमासको सट्टा हिजबुल्ला तथा बन्धकहरूको रिहाइको सट्टा आफ्नो सत्ता शक्तिलाई प्राथमिकता दिइरहेका छन्, जसले गर्दा उनी लेबनानमा गरेको काम गाजामा गर्न सकिरहेका छैनन्’ भनिएको छ ।

हारेट्जले आफ्नो सम्पादकीयमा, नेतन्याहुले हमासको एक्लोपनको फाइदा उठाउनुपर्ने र बन्धकलाई रिहाइ गर्न सकियोस् भन्ने हेतुले गाजामा पनि त्यस्तै सम्झौता गर्नुपर्ने उल्लेख गरेको छ ।

हिजबुल्ला समर्थित सञ्चारमाध्यमले भने यो सम्झौतालाई विजयको रूपमा प्रस्तुत गरेका छन् ।

‘यो लेबनानको जित हो, इजरायली सेनाले ठूलो क्षति बेहोरेको छ । दक्षिणी लेबनानमा रहेको रणनीतिक रूपमा निकै महत्वपूर्ण सहर खियाममाथि इजरायली नियन्त्रण विफल पारिएको छ’‚ अल–मनारको वेबसाइटमा भनिएको छ ।

‘इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो भाषणमा युद्धविरामको घोषणा गरेका थिए । यसले इजरायली सेना कतिसम्म लाचार भएको थियो भन्ने देखाउँछ । इजरायली सेनालाई युद्धको मैदानमा जित हासिल गर्न सकिन्न भन्ने लाग्न थालिसकेको थियो’‚ हिज्बुल्ला समर्थितको टिप्पणी छ ।

इरानको कमजोरी ?

हिजबुल्ला समर्थित अल–अखबार दैनिकले पहिलो पृष्ठको हेडलाइनमा ‘अडिग विजय’ लेखेको बिबिसीले जनाएको छ । ‘हाम्रो शत्रुले गर्न सक्ने जति सबै गरे, यो संघर्षको अन्त्य पनि सन् २००६ को युद्धजस्तै भयो’‚ अखबारले लेखेको छ ।

हिजबुल्लाको वेबसाइट अल–अहदमा, ‘शत्रुलाई समस्या पर्न थालेपछि युद्धविराम लागू भयो’ भनी उल्लेख गरिएको छ । ‘इजरायलले यहाँ प्रतिरोधको अनुभव गरेको हुनुपर्छ । हिजबुल्लाले पाठ सिकाएको छ । इजरायलले हासिल गर्न चाहेको लक्ष्य हासिल गर्न सकेन तर हाम्रो जीत भयो । इजरायलको कमजोरी र क्रूरता दुवै उजागर भएको छ’‚ अल–अहदले लेखेको छ ।

इरानको अंग्रेजी पत्रिका तेहरान टाइम्सले हिजबुल्लाका प्रमुख सैयद हसन नसरल्लाका छोरा सैयद मोहम्मद मेहदीको भिडियो शेयर गरेको छ । मेहदीले उक्त भिडियोमा युद्धविरामको सम्झौतालाई हिजबुल्लाको जीत भनेका छन् । ‘यो हाम्रो साहस र समर्पणको जीत हो, उनीहरुले हाम्रा घर ध्वस्त पारे र हाम्रा मान्छेहरु मारे तर अन्ततः हामीले जित्यौं’‚ उनको दाबी छ ।

युद्धविरामको सम्झौतालाई केहीले भने इरानको कमजोरी पनि भनिरहेका छन् । भारतमा पाकिस्तानका उच्चायुक्त रहेका अब्दुल बासित ताजा सम्झौताले इरान अब टकरावको मनस्थितिमा नभई रक्षात्मक बनेको देखाएको तर्क गर्छन् ।

‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पुनरागमनपछि इरान अब रक्षात्मक बनेको छ । उसले नै हिजबुल्लालाई युद्धविरामको बाटोमा अगाडि बढ्न भनेको हुनुपर्छ, उनले भनेका छन्, ‘इजरायलले गाजामा आफ्नो आक्रमण बन्द गरेपछि मात्रा वार्ता हुने हमासको पहिलेको चाहना थियो तर अहिले धेरै कुरा परिवर्तन भइरहेका छन्।’

इरानले पनि ट्रम्प आउनुअघि हिजबुल्लालाई किनारा लगाउन चाहेको र यही अवस्थामा ट्रम्पको सामना गर्न इरानले नचाहेको बासितको तर्क छ । ‘यस्तो अवस्थामा ऊ युद्धविरामतर्फ अगाडि बढ्यो, ता कि युरोपसँगको सम्बन्ध सुधार गर्न सकियोस् । अमेरिका इरानमा सरकार परिवर्तन गर्न र आणविक कार्यक्रम रोक्न चाहन्छ तर इरान यस्तो हुन नदिन ट्रम्पलाई उक्साउन चाहँदैन’‚ उनले थपे ।

रूस अहिले युक्रेनसँगको युद्धमा रहेको र पश्चिमा राष्ट्रको नाकाबन्दीका कारण रूरुस पनि आर्थिक रूपमा कमजोर भएको भन्दै बासितले भने‚ ‘इरानले अहिले न त रूसबाट सहयोग पाउँछ न चीनले इरान कुनै युद्धमा फसोस् भन्ने चाहेको छ । त्यसो त इरानमा चीनको अर्बौँ डलरको लगानी छ तर उसले कसैलाई पनि सैन्य सहयोग गर्दैन। यस्तो अवस्थामा इरान सामु ट्रम्पको मामिलामा सजग हुनुको विकल्प छैन’‚ अब्दुल बासित भन्छन् ।


सम्बन्धित समाचार