१६ मंसिर, काठमाडौँ । बंगालको खाडीमा उत्पत्ति भएको आँधी भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई सतर्क रहन भारत सरकारले आग्रह गरेको छ ।
भारतका धेरै तटीय क्षेत्रहरूमा वर्षा शुरु भइसकेको छ भने तमिलनाडुको महाबलीपुरमका समुद्रमा उच्च छालहरू आएका छन् । प्रदेश सरकारले विद्यालय तथा कलेजहरुमा बिदा दिने र माछा मार्नेहरुलाई समुद्रमा नजान चेतावनी दिएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार यो आँधी आज दिउँसो तमिलनाडु र पुडुचेरीको तटमा पुग्नेछ । फेङ्गल नाम दिइएको उक्त आँधी बंगालको खाडीको दक्षिण–पश्चिमी भागमा, चेन्नईको २१० किलोमिटर दक्षिण पूर्वमा रहेको मौसमविदहरुले जनाएका छन् । यस अवधिमा हावाको गति ७० देखि ८० किलोमिटर प्रतिघण्टादेखि ९० किलोमिटर प्रतिघण्टासम्म रहने बताइएको छ ।
उक्त आँधी भारतका विभिन्न शहरसम्म आउन सक्ने सम्भावना रहेकाले दिल्ली सरकारले सचेतना अपनाउन नागरिकलाई अपिल गरेको छ ।