Logo

नेपाल भारत सिमामा बिक्री गर्न राखिएको भारतीय रासायनिक मल

१६ मंसिर, सेंढवा । बर्षेबाली धानपछि अर्को मुख्यबाली गहुँ छर्ने बेला रासायनिक मलका लागि किसानहरु बजार बजार भौतारीनु परेको गुनासो गरेका छन् ।

गहुँबालीका लागि किसानहरुले डिएपी, यूरिया र पोटास रासायनिक मलको आभाव झेल्नु परेको बताएका हुन् । गहुँ छर्ने समयमा साढे दुई किलो डिएपी, यूरिया र पोटास डेढ–डेढ किलोग्राम प्रति कट्ठाको दरमा न्यूनतम मलको आवश्यकता पर्ने किसानहरुले जनाएका छन्।

पटेर्वासुगौली गाउँपालिका वडा नं.–२ का किसान बिगा महरा चमारका अनुसार गहुँ  छर्ने समय भइसकेको र आवश्यकता अनुसारका अन्य सामग्रीहरुको व्यवस्थापन भइसकेपनि रासायनिक मलको अभावका कारण काम रोकिएको गुनासो गरे । स्थानीय कृषि सहकारी संस्थामा मल नपाएका कारणले अन्य बजारमा मल खरिदका लागि धाई रहेको भएपनि रासायनिक मल नपाएको गुनासो गरे।

त्यस्तै जिराभवानी गाँउपालिका वडा नं.– ३ नौकाटोला निवासी राजकपूर रायका अनुसार रासायनिक मलको अभावका कारण किसानहरु बिचलित भएको बताए। किसानसँग रकम हुदा हुदै समयमा मल नपाउनु तीनै तहका सरकारका गैरजिम्मेवार कार्य रहेको बताए ।

देशलाई कृषि प्रधान देश भनिन्छ तर किसानहरूला आवश्यकता परेका बेला मल, बिऊबीजन उपलब्ध गराउन नसक्नु सरकारले आम नागरिकको हकहितमा काम नगरी व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको रायले आरोप लगाए।
साल्ट ट्रेडिङ्ग कम्पनी र कृषि सामग्री संस्थानले माग बमोजिम मल नदिएका कारण किसानहरुलाई मल उपल्बध गराउन नसकिएको स्थानीय कृषि सहकारी संस्थाका संचालकहरु बताउछन।

जिराभवानी गाँउपालिका वडा नं.– २ सेढवामा रहेको मारुतीनन्दन कृषि सहकारी संस्थाका संचालक सत्यनारायण साहले कृषि सामग्री संस्थानले गहुँ छर्ने बेला एक पटकमात्र मल पठाएको हुँदा मल अपुग भएको बताए। यस लटमा कृषि सामग्री कम्पनीले जिराभवानी गाउँपालिकामा एक हजार बोरा यूरिमा र ८ सय तीस बोरा डिएपी मात्र दिएको साहले बताए।

वडाको भागमा एक सय साठी बोरा डिएपी र एक सय नब्बे बोरा यूरिया आएको र सो मल गएको सातामा बितरण गरेको साहले बताए। अब मल कहिले आउने कुनै ठेगान नभएको साहले बताए। यस पटक साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले अहिलेसम्म मल नदिएको साहले बताए।

नेपाली बजारमा रासायनिक मल पाउन बन्द भएपछि भारतीय बजारबाट मल खरिद गर्न नेपाली किसानहरु बाध्य भएका छन्। किसानहरुले नेपाली बजारभन्दा महंगो मूल्य तिरेर गुणस्तरहिन रासायनिक मल खरिद गर्नु परेको किसानहरुले गुनासो गरे। भारतीय बजारमा किसानहरूले साढे तीन हजारमा डिएपी तथा खरिद गर्नु परेको किसानहरुको भनाई छ। त्यसमा पनि गुणस्तरमा शंका लाग्ने गरेको किसानको भनाई छ।

भारतीय बजारमा पोटास प्रति बोरा १८ सयदेखि ३५ सय रुपैया रहेका हुदा सक्कली नक्कली चिन्न गाह्रो हुने किसान बताउछन्। मल ल्याउदा सीमामा खटेका दुई देशका सुरक्षाकर्मीबाट अपमानित हुनु परेको किसानको भनाई छ। तैपनि सिकटा, मैनाटांड, इनरवा र भंगहा लगायतका भारतीय बजारमा मल खरिद गर्न नेपाली किसानहरुको भिड बढेका छन् ।


सम्बन्धित समाचार