Logo

१७ मंसिर,काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन शुरू गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन शुरू गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरू मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै शुरू हुन नसकेको हो ।

‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य अझै भैरहेकै छ,’ उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लग्तै पुनः सिमेन्ट उत्पादको कार्य शुरू गर्ने अनुमान गरेका थियौं ।’ तर, अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाइ छ ।

उपकरणहरूको मर्मत कार्य सम्पन्न हुनेवितिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन शुरू गर्नेगरी तयारी भैरहेको उनले बताए । उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।
उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताउनुहुँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीब्र रूपमा भइरहेकाले छिटै सकिने र त्यस लग्तैबाट उत्पादन शुरू गर्ने तयारी भएको बताए । ‘हामीसँगै कच्चा पदार्थको कुनै अभाव छैन्,’ अध्यक्ष भण्डारीले भने,‘उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।’

थप कोइला खरिदको प्रक्रिया अघि बढी सकेको छ, त्यसैले कोइलाको समस्या छैन्, उनको भनाई छ ।

आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन शुरू गरेको उद्योगले यसअबधीमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए ।

२०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरू गरेको थियो ।


सम्बन्धित समाचार