१९ मंसिर,सेढवा । पर्साको ठोरी गाँउपालिका वडा नम्बर–५ सुवर्णपुरमा संचालित सुनाखरी होम स्टेमा आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुको संख्यामा बृद्धि भएको छ ।
गत असार महिनादेखि पातलिदै गएका पर्यटकहरुको संख्यामा अहिले बृद्धि भएको हो । कार्तिक महिनादेखि होम स्टे (घरबास) मा आउने पाहुनाहरुको संख्यामा बृद्धि भएको छ ।
सुनाखरी होम स्टे व्यवस्थापन समितिका अध्यक्ष शम्भूराम पौडेलका अनुसार बिगतमा आन्तरिक पर्यटकहरु मात्र आउने गरेका थिए । तर, अहिले अमेरिका, अस्ट्रेलिया, कयानडा लगायतका पश्चिमी मुलुकका पाहुनाहरु समेत आउन थालेका अध्यक्ष पौडेलले बताए ।
बिगतमा बार्षिक ७÷८ सय आन्तरिक पर्यटकहरु आउने गरेको उहाँले बताउनुभयो । यस बर्ष १२÷१३ सय पर्यटकहरु आउने गरेको उहाँले बताए । अहिले पनि होम स्टेका सम्पूर्ण कोठाहरु भरिएका अध्यक्ष पौडेलले बताए ।
यसका आलावा छिमेकी मुलुक भारत बिहारका पर्यटक बार्षिक डेढ दुई सय आउने गरेको अध्यक्ष पौडेलले बताउनुभयो । होम स्टे संचालकहरुले बार्षिक १२ देखि १३ लाख रुपैया आम्दानी गर्ने गरेका अध्यक्ष पौडेलले बताए ।
सुनाखरी होम स्टेमा ६० जना पर्यटकहरुको बास बस्ने १५ वटा होम स्टेको व्यवस्था रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसका साथै जीप सफारीबाट पर्सा राष्ट्रिय निकुञ्जका जंगलमा पनि घुमाउने गरिएको छ ।
पर्साका एनजीओकर्मी दामोदर यादवले होम स्टेमा आएर बास बस्न र कोलाहलमुक्त वातावरणमा रमाउन पाउदा निकै खुशी लागेको बताए । आफ्नै घर जस्तो आफैले पनि दाउरा बालेर खाना पकाएर खान पाउँदा एकदमै रमाइलो हुने गरेको यादवले बताए ।
होम स्टेको संचालनले स्वदेशी तथा बिदेशी पर्यटकहरुको आवागमन भइरहने हुदा समूदायको बिकासमा निकै टेवा पुग्ने यादवको भनाई छ । यसको संरक्षण तथा प्रर्वदन गर्न हामी सबैको नैतिक दायित्व भएको यादवले बताए ।
सुनाखरी होम स्टे व्यवस्थापन समितिका सचिव बलराम कोर्मोचाका अनुसार होम स्टेमा पाहुनाहरुका लागि खाना तथा नास्ताका लागि आवश्यक खद्यान्न हाईजेनिक हुने गरेको बताए।होम स्टेमा बस्न आउने पाहुनाहरुका लागि खाद्यान्न बस्तुलाई बिषेश रुपमा बनाइएको र सोही अनुसार कार्यन्यन भएको सचिव कोर्मोचाले बताए ।
होम स्टेमा सात सय प्रति कोठाको भाडा रहेको छ । भने, खाना पनि निकै सस्तोमा पाउने गरेको छ ।