Logo

१९ मंसिर,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा अनुसन्धान गर्न रविलाई पक्राउ अनुमति दिइएको हो । सानो पाइलाबाट गोर्खा मिडियामा साढे ८ करोड रूपैयाँ लगेर अपचलन गरेको देखिएको छ । पर्सा प्रहरीका अनुसार सानो पाइलाबाट गैरकानूनी रूपमा रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक थिए ।

पर्सा प्रहरी स्रोतका अनुसार हालैमात्र लामिछाने, छविलाल जोशी, जीबी राईसहित १४ जनालाई पक्राउ गर्न जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको छ । गत कात्तिक २ मा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ ।

सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी आठ करोड ५८ लाख ४४ हजार रूपैयाँ जम्मा गरिएको थियो ।

२०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रूपैयाँ सारिएको थियो । अरू रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सारिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि २०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक थिए ।

सानो पाइलाका बचतकर्ताले एक वर्षअगाडि उजुरी दिँदा गोर्खा मिडियामा सहकारीबाट रकम सारिएको प्रमाण फेला परेको थिएन । संसदीय छानबिन समितिले प्रतिवेदनमा सानो पाइला सहकारीबाट पनि गोर्खा मिडियामा रकम सारिएको उल्लेख गरेपछि बचतकर्ताले प्रहरीलाई थप अनुसन्धान गर्न अनुरोध गरेका थिए ।

सानो पाइला सहकारीको बचत हिनामिनाका विषयमा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख, एसपी कुमोद ढुंगोलले बताए । ‘मुद्दा यसअघि नै अदालत गइसकेको छ,’ उनले भने, ‘थप आएका जाहेरीमा अनुसन्धान भइरहेको छ ।’

एक वर्षअगाडि सानो पाइला सहकारीका १७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए । तत्कालीन समयमा प्रहरी अनुसन्धानपछि जिल्ला अदालत पर्सामा मुद्दा दायर गरिएकामा सानो पाइला सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा एक करोड १० लाख रूपैयाँ धरौटीमा रिहा भएकी थिइन् ।

सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रूपैयाँ धरौटीमा रिहा भए । प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्रबाबु (जीबी) राईलगायत ११ जना फरार छन् । कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् ।


सम्बन्धित समाचार